तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल न्यूज अष्ट्रेलियाको १० औँ वार्षिक उत्सव : समाजको सही सूचना सम्प्रेषित गर्न डराउनु नपर्नेमा जोड 

सिड्नी । अष्ट्रेलियामा क्रियाशील पत्रकारले समाजको यथार्थ सूचनालाई सही ढंगले सम्प्रेषित गरि समाजलाई सुसूचित गर्ने कुरामा जोड दिनुभएकाे छ।

नेपाल न्युज अष्ट्रेलियाको १० औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै नेपालबाट कार्यक्रममा सहभागी हुन आउनुभएका वरिष्ठ पत्रकारले प्रवासको पत्रकारिताबारे चर्चा गर्दै पत्रकारहरूले सामाजिक दायित्वसमेत निर्वाह गर्नु पर्ने बताउनुभयाे ।

कार्यक्रमका प्रमुख अतिथि एवं वरिष्ठ पत्रकार हरिबहादुर थापाले व्यावसायिक र मर्यादित पत्रकारितामार्फत समाजलाई सुसूचित पार्ने कुरामा यहाँ कार्यरत पत्रकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो।

रहर र प्यासनका आधारमा चलेको प्रवासको पत्रकारितालाई लामो समयसम्म टिकाउन निकै मुस्किल हुने सन्दर्भमा नेपालन्युज अस्ट्रेलियाले आफ्नो दसौँ वर्ष पुरा गरेको खुसी व्यक्त गर्दै थापाले सामाजिक दायित्वसमेत पूरा गरेको बताउनुभयो।

उहाँले प्रवासको नेपाली समुदायलाई जोड्ने र स्थानीय गतिविधिलाई एक अर्काको पहुँचमा पुर्‍याउने काममा यहाँका सञ्चारकर्मीले भूमिका खेल्नुपर्ने धारणा राख्नुभयो।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताले यहाँका सञ्चारकर्मीलाई समाजले पनि सकारात्मक सहयोग गर्नुपर्ने खाँचो रहेको औँल्याउनुभयो।

‘नेपाली पत्रकारको आँखामा प्रवासी पत्रकारिता’ शीर्षकको अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेपाल टेलिभिजनका प्रमुख कार्यकारी अध्यक्ष शमिरजंग शाहले बदलिएको सञ्चार कर्मलाई प्रवासका पत्रकारले उचित मूल्याङ्कन गरी आफ्नो मूल्य र मान्यतामा ध्यान दिएर पत्रकारिता गर्न सुझाव दिनुभयो।

उहाँले व्यस्त जीवनबीच थोरै समय छुट्टाएर पत्रकारितालाई जीवितै राख्नु गर्वको विषय भएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने बताउनुभयो।

यस्तै गोरखापत्र संस्थानका प्रमुख कार्यकारी अध्यक्ष विष्णु प्रसाद सुवेदीले उच्च शिक्षा अध्ययन तथा कामका शिलसिलामा विभिन्न मुलुकमा पुगेका नेपाली सञ्चारकर्मीले प्रवासमा मात्र नभएर नेपाली मूलधारका मिडियामा समेत डायस्पोराका गतिविधिबारे समाचार सम्प्रेषण गर्दै आएको स्मरण गर्दै निरन्तरताको कामना गर्नुभयो।

उहाँले नेपालमा पत्रकारिताको कखरा पढेका र कलम चलाएकाहरू नै यतिबेला प्रवासी नेपाली पत्रकारिताको आधार स्तम्भ भएको भन्दै सत्य तथ्य र समाजमा आधारित भएर पत्रकारितालाई निरन्तरता दिन सुझाव दिनुभयो।

कार्यक्रममा रेडियो नेपालका चिफ रिपोर्टर प्रमोद दाहालले विभिन्न बाध्यता र परिस्थितिका बिच बिदेसिएका पत्रकारले प्रवासमा पनि राम्रो छाप छोडेको भन्दै  यसलाई आगामी दिनमा निरन्तरता दिनु पर्ने बताउनुभयो । उहाँले पत्रकारहरूलाई सामाजिक दायित्वसमेत निर्वाह गर्न आग्रह गर्नुभयो।

समाजका अगुवा इन्द्रा बनले नेपाली पत्रकारले समुदायउन्मुख पत्रकारिता गर्नुपर्ने भन्दै निरन्तरताको कामना गरिन्।

कार्यक्रममा नेपाल न्यूज अष्ट्रेलियाको १० वर्षे यात्रा र उतारचढावबारे हेमन्तराज काफ्लेले प्रकाश पार्नुभएको थियो । उहाँले एकातिर हातमुख जोड्ने समस्याले अन्य काम गर्नुपर्ने बाध्यता रहेको भन्दै अर्कोतिर आफ्नो आत्मरतिको कारण नेपालमा गरिआएको पत्रकारितालाई छोड्न नसक्नुको प्रमाण नै नेपाल न्यूज अष्ट्रेलियाको १० औँ वार्षिकोत्सव मनाउनु रहेको बताउनुभयो।

उहाँले जीविकोपार्जनका लागि अन्त काम गरेर हामीले थकाइ मार्ने समयलाई चाहिँ समाचार र कार्यक्रम निर्माण गर्न छुट्ट्याएको भन्दै आगामी दिनमा कमी कमजोरीलाई सुधार गरेर अगाडि बढ्ने प्रण गर्नुभयो।

यस्तै नेपाल न्यूज अष्ट्रेलियाका सम्पादक कृष्ण तिवारीले स्वागत मन्तव्य राख्दै  प्रवासको नेपाली पत्रकारिताबारे प्रकाश पार्नुभयो ।

कार्यक्रममा प्रधान सम्पादक माधव गैरेले प्रवासको पत्रकारिता सोचेजस्तो सहज र उपलब्धि मूलक हुन नसकेको भन्दै बचेको थोरै समयलाई उचित सदुपयोग गरेको स्पष्ट पार्नुभयो।

उहाँले प्रवासमा रहेका विभिन्न नेपाली समाज, समुदाय र सहयोगी मनका कारण आफ्नो प्यासनलाई निरन्तरता दिन सकेको बताउनुभयो।

कार्यक्रमको दोस्रो सेसनमा देश दुख्दा जुरुक्क उठेर सहयोग गर्ने प्रवासी नेपालीले नेपालको विकास निर्माणमा कसरी सहयोग गर्न सक्छन्, यहाँको लगानी नेपाल कसरी लैजान सकिनेछ भन्ने विषयमा अष्ट्रेलियामा लामो समयदेखि बस्दै आएका नेपाली मूलका अष्ट्रेलियन नागरिक ज्ञानेन्द्र कार्की (ग्यारी) ले ‘कनेक्ट एनआरएन, बिल्ट नेपाल’ अभियानको सुरुआतबारे प्रष्ट पार्दै यो अभियान विदेशमा रहेका नेपालीहरूलाई आफ्नो मातृभूमिसँग जोड्ने गतिलो माध्यम बन्ने दाबी गर्नुभयो।

कार्यक्रमको दोस्रो सेसनमा देश दुख्दा जुरुक्क उठेर सहयोग गर्ने प्रवासी नेपालीले नेपालको विकास निर्माणमा कसरी सहयोग गर्न सक्छन्, यहाँको लगानी नेपाल कसरी लैजान सकिनेछ भन्ने विषयमा अष्ट्रेलियामा लामो समयदेखि बस्दै आएका नेपाली मूलका अष्ट्रेलियन नागरिक ज्ञानेन्द्र कार्की (ग्यारी) ले ‘कनेक्ट एनआरएन, बिल्ट नेपाल’ अभियानको सुरुआतबारे प्रष्ट पार्दै यो अभियान विदेशमा रहेका नेपालीहरूलाई आफ्नो मातृभूमिसँग जोड्ने गतिलो माध्यम बन्ने दाबी गर्नुभयो।

उहाँले यो अभियानबाट विदेशमा रहेका नेपालीको लगानी नेपालमा हुनेछ र नेपाललाई समृद्ध बनाउन सघाउ पुर्‍याउने बताउनुभयो। 

यो अभियानलाई विदेशी नागरिकको हैसियत बनाइसकेका नेपाली मूलका व्यक्तिहरूले कुन रूपमा लिएका छन्, यो अभियान कस्तो हो अनि कसरी नेपालमा लगानी भित्र्याउन सकिन्छ भनेर एनआरएनए अष्ट्रेलियाका कोषाध्यक्ष, युवा व्यवसायी स्पष्ट वक्ता अनिल पोखरेल र सात लाख बढी अन्तर्राष्ट्रिय विद्यार्थीको साझा संस्था काउन्सिल फर इन्टरनेसनल स्टुडेन्ट्स अस्ट्रेलिया (सीसा)का अध्यक्ष विजय सापकोटाले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

गैर आवासीय नेपाली सङ्घले नेपालमा लगानी भित्र्याउने, ज्ञान सिप र पूजी परिचालन गर्ने काममा धेरै अगाडिदेखि चासो लिएको स्मरण गर्दै पोखरेलले यसका लागि नेपालको धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैक, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय लगायतका निकायबाट बनेकाले पत्रकारहरूले यस विषयमा सहजीकरण गर्नुपर्ने धारणा राख्नुभयो।

यसरी विद्यार्थी बनेर अष्ट्रेलिया आएका केही नेपालीले परदेशमा सफल व्यवसायीको परिचय बनाइसकेको भन्दै सीसाका अध्यक्ष सापकोटाले विदेशी नागरिक भइसकेका नेपालीबाट सानो सानो पुँजीलाई जम्मा गरेर त्यसलाई नेपालमा लगानी भित्र्याउने विषयलाई पछिल्लो पुस्ताले सकारात्मक रूपमा लिएको बताउनुभयो।

कार्यक्रममा ओएनएफका अध्यक्ष केशव जोशी, अष्ट्रेलियन नेपलिज जर्नालिस्ट एसोसिएसन (एन्जा) अध्यक्ष चिरञ्जीवी देवकोटा, जनसम्पर्क समितिका अध्यक्ष सुरेश गुरुङ, ब्लाकटाउन सिटी काउन्सिलका काउन्सिलर लिभिङ्स्टन चेट्टीपल्ली, (अर्बन होम्स) अर्बन होम्स, एनएसडब्लु, लाभिस कन्स्ट्रक्सन एण्ड डेभलपमेन्टका नितिन बात्रा लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button