तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुपाल्चोक क्रिकेट सङ्घको तदर्थ समिति गठन

सिन्धुपाल्चोक । क्रिकेट खेलको विकाससँगै सम्भावनायुक्त खेलाडी उत्पादन गर्ने उद्देश्यले पहिलो पटक सिन्धुपाल्चोक क्रिकेट सङ्घको तदर्थ समिति गठन भएको छ ।

सिन्धुपाल्चोकको मेलम्चीमा शनिबार सम्पन्न भेलाले विजयकुमार धितालको अध्यक्षतामा एघार सदस्यीय तदर्थ समिति गठन गरेको हो । नवगठित समितिमा उपाध्यक्ष राजन धिताल, सचिव अजय कुमार धिताल, कोषाध्यक्ष राजु सापकोटा, सदस्यहरूमा विजेश श्रेष्ठ, प्रकाश सापकोटा, रुद्रशरण श्रेष्ठ, दिलीप लामा, सागर खड्का, सन्तोष चौलागाई, अनिल कुमार धिताल रहनुभएको छ ।

तदर्थ समितिको भेलालाई सम्बोधन गर्दे मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले पछिल्लो समय क्रिकेटले पाइरहेको सफलताबाट देशले गर्व गर्ने वातावरण बनेको बताउनुभयो । क्रिकेटलाई प्रोत्साहन गर्न आगामी दिनमा उपयुक्त मैदान निर्माण गरी प्रतियोगिता आयोजना गर्न तथा क्रिकेट खेलको विकासको लागि सहकार्य गर्ने उहाँले बताउनुभयो ।

यस्तै क्रिकेट खेललाई सिन्धुपाल्चोकमा स्थापित गर्न सुरुवातदेखि नै सहयोग गर्दै आउनुभएका पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले नवगठित तदर्थ समितिलाई बधाई दिँदै क्रिकेट खेलको विकाससँगै खेल मैदान निर्माणमा आवश्यक पहल र सहकार्य गर्न तत्पर रहेको जानकारी दिनुभयो ।

नव गठित तदर्थ समितिका अध्यक्ष विजय कुमार धितालले सिन्धुपाल्चोक क्रिकेट सङ्घको तदर्थ समिति गठन पश्चात् क्रिकेट खेललाई आधिकारिक रुपमा जिल्लामा स्थापित गर्न गोरेटो बाटोको निर्माण सुरु भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button