पुरुष बिच भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मीलाई
पाल्पा । राष्ट्रिय पुरुष बिच भलिबल प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । पाल्पाको रानीमहलमा आज सम्पन्न खेलमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै आर्मीले उपाधि उचालेको हो ।

आर्मीका दिल सुनार र दुर्गाप्रसाद महतोको जोडीले पुलिसको इमबहादुर राना र चन्द्रबहादुर कुँवरको जोडीलाई २१–१९ र २१–१५ को सोझो सेटमा हरायो । उपाधि सहित आर्मीले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो । उपविजेता बनेको पुलिसले एक लाख रुपैयाँ प्राप्त गर्यो ।
अर्को विभागीय टिम सशस्त्र प्रहरी बल एपीएफको टिमले कर्णाली प्रदेशलाई २१–१८ र २१–१७ को सोझो सेटमा हराउँदै तेस्रो बन्यो । एपीएफले ५० हजार र कर्णालीले २५ हजार रुपैयाँ प्राप्त गरे । आर्मीलाई उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका दिल सुनार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बने । उनले १० हजार रुपैयाँ प्राप्त गरे ।
चैत २८ गतेबाट रानीमहल प्राङ्गणमा सुरु भएको प्रतियोगितामा कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेश गरि ५ प्रदेश, तीन विभागीय क्लब र आयोजक गरि ९ टोली सहभागी थिए ।
राष्ट्रिय खेलकुद परिषद् राखेपको मुख्य सहयोग र सञ्जय मेमोरियल फाउन्डेसनको आयोजनामा सञ्चालित प्रतियोगिता रानीमहललाई बिच भलिबलको हब बनाउने उद्देश्यका साथ गत वर्षदेखि सुरुआत गरिएको थियो ।
समापन समारोहका प्रमुख अतिथि प्रदेश सभा सदस्य वीरबहादुर राना, फाउन्डेसनका अध्यक्ष निरोज मास्के लगायतले विजेता खेलाडी र टिमलाई पुरस्कृत गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्