तपाईँ सुन्दै हुनुहुन्छः

बारामा ५ सय ३० जना मिटर ब्याज पीडितद्वारा उजुरी दर्ता

बारा । अनुचित लेनदेन (मिटर ब्याज)सम्बन्धी बारामा ५ सय ३० जना पीडितले उजुरी दिएका छन् । बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जिल्लामा मिटर ब्याज पीडितको अवस्था भयावह रहेको बताउनुभयो ।

उहाँले जिल्लामा ५ सय ३० जना पीडितले उजुरी दिएकोमा २८ वटा उजुरी मात्रैको समस्या समाधान भएको बताउनुभयो । आयोगले वैशाख ३० गते सम्मका लागि पीडितलाई निवेदन दिन भनेकोमा सोको अवधि बढाएर २०८० ज्येष्ठ ७ गते सम्मका लागि म्याद थपेको छ । पीडितलाई जिल्ला प्रशासन कार्यालय बारामा गई निःशुल्क निवेदन दिन सकिने सहज व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

अनुचित लेनदेन (मिटर ब्याज) जाँचबुझ आयोगका अध्यक्ष गौरी बहादुर कार्कीले सरकारले मिटर ब्याज पीडितको पक्षमा काम गर्ने गरी कानुन ल्याएको भन्दै अनुचित लेनदेन अपराध भएको बताउनुभयो । पीडक र पीडित दुवै पक्षलाई एकै ठाउँमा राखी न्यायोचित लेनदेनमा सहजीकरण गरिने अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

उहाँले पीडक समस्या समाधानमा लचक नभए सम्पत्तिको श्रोतको अनुसन्धान गरी श्रोत नपुग्ने सम्पत्ति जफत गर्ने सम्मको कार्यमा आयोगले काम गर्ने अध्यक्ष कार्कीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button