तपाईँ सुन्दै हुनुहुन्छः

पहिचानवादीले निषेधको राजनीति गर्नु हुँदैन : मन्त्री लिम्बू

मोरङ । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले कोशी प्रदेश नामको विरुद्धमा पहिचानवादीले निषेधको राजनीति गर्नु नहुने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले प्रदेशसभाले विविध रुपमा नामकरण गरिसकेको अवस्थामा पहिचानवादीले अधिकार प्राप्तिका लागि हिंसाग्रस्त आन्दोलन छाडि शान्तिपूर्ण आन्दोलन गर्न अनुरोध गर्नुभयो ।

मन्त्री लिम्बूले नेपाल बहुजाति, बहुभाषिक, बहुधार्मिक जात समुदाय बस्ने फूलबारी भएकाले नेपालीबीच मिलेर बस्ने वातावरण बनाउन गम्भीरतापूर्वक सोच्नुपर्ने सबै पक्षसँग आग्रह गर्नुभयो ।

उहाँले हिंसाग्रत आन्दोलनले मुलुकको विकास गतिलाई ठप्प पार्ने भन्दै यस सम्बन्धमा पहिचानवादी आन्दोलन पक्षले गम्भीरतापूर्वक सोच्नुपर्नेमा जोड दिनुभयो । मन्त्री लिम्बूले पहिचानवादीले उठाएका माग सम्बोधन गरेमा मुलुकलाई शान्तिपूर्ण बाटोमा डोर्‍याउन सकिने धारणा राख्नुभयो ।

उहाँले मोरङको बैजनाथपुरमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट मैदानको नाम ‘गिरिजा प्रसाद’ नामकरण गरी पूर्वाधार निर्माण चाँडै सम्पन्न गर्न सङ्घीय सरकारको आगामी नीति तथा कार्यक्रममा समेट्ने बताउनुभयो ।

उहाँले खेलकुदका प्रशिक्षकहरू विगत २८ वर्षदेखि एकै पदमा रहेको र सरुवासमेत नभएको अवस्थामा आवश्यक ऐन संशोधन गरी आगामी बजेटपछि व्यवस्थापन गरिने जानकारी दिनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button