भोजपुरमा लम्पी स्किन रोगको संक्रमण बढ्दै

भोजपुर । भोजपुरमा लम्पी स्किन रोगको संक्रमण बढ्दै गएको छ ।
घरमा पालेका पशु चौपायाहरूमा लम्पी स्किन रोगको संक्रमण बढ्दै जान थालेपछि पूर्वी पहाडी जिल्ला भोजपुरका स्थानीय पालिकाहरू समेत रोग नियन्त्रणका लागि सचेत बन्न थालेका छन् ।
“प्रकोप अत्यधिक बढेसँगै अनुदानमै भ्याक्सिन माग गरेर केही मात्रामा वितरण गरेका छौँ, पर्याप्त भ्याक्सिन ल्याउने काम भइरहेको छ, सक्दो पहल गरिरहेका छौँ”, भोजपुरको पश्चिम टेम्के मैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले भन्नुभयो ।
टेम्केमैयुङ गाउँपालिकाले वडा नम्बर ३, ५, २, १ का किसानहरूलाई ५० प्रतिशत अनुदानमा भ्याक्सिन ल्याएर वितरण समेत गरेको छ ।
घरपालुवा पशु चौपायामा लम्पी स्किन रोगको संक्रमण बढ्न थालेपछि किसान चिन्तित बनेको अवस्थामा स्थानीय तहहरू समेत जागरूक हुनु पर्ने भोजपुर नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष नवीन प्रधानले बताउनुभयो ।
उहाँले भन्नुभयो, “गाई गोरुमा देखिएको नयाँ रोग नियन्त्रण तथा व्यवस्थापनको लागि भोजपुर नगरपालिकाले निःशुल्क औषधीको व्यवस्था गरेको छ, यस वडामा पनि स्थलगत पशु सेवाको दिनको लागि पशु सेवाकर्मीको व्यवस्था मिलाएका छौँ ।”
जिल्लाका अधिकांश गाउँ बस्तीका गाईबस्तुमा यो रोगको प्रकोप बढ्न थालेपछि किसानहरू चिन्तित बनेका छन् । बालीनाली लगाउने समयमा गाईबस्तु रोगबाट धमाधम संक्रमित हुन थालेपछि खेती चटारोमा थप समस्या थपिएको छ ।
खेतीको सिजन सुरु भएका बेला गोठका गाईबस्तु रोगबाट ग्रसित हुन थालेपछि आफूहरू चिन्तित बनेको किसानहरूको गुनासो रहेको छ । संक्रमण विरुद्धको भ्याक्सिन अझै पनि पर्याप्त नहुँदा ग्रामीण बस्तीमा पशुचौपाया मर्न थालेका छन् ।
रोग नियन्त्रणका लागि रामप्रसाद राई गाउँपालिकाले पनि औषधी व्यवस्थापनका लागि बजेटको व्यवस्थापन गरेको गाउँपालिका अध्यक्ष थाम बहादुर राईले बताउनुभयो ।
जिल्लाको टेम्केमैयुङ गाउँपालिका, भोजपुर नगरपालिका, पौवादुङमा गाउँपालिका लगायत विभिन्न ग्रामीण क्षेत्रमा यो रोगको प्रकोप बढेको हो ।
हावापानी, संक्रमित पशुको सम्पर्कका साथै लामखुट्टे, झिँगा, किर्ना, भुसुनाको टोकाइबाट एकदेखि अर्को पशु चौपायामा सर्ने गरेको पौवादुङमा गाउँपालिका पशु स्वास्थ्य शाखाका पशु प्राविधिक अभिषेक खवासले जानकारी दिनुभयो ।
“बेँसी खेतमा बाँझो जोत्ने बेला भएको छ, बालीनाली लगाउने समय छ, गोठमा जोत्ने गोरुहरू लम्पी रोगबाट थलिएका छन्, उचित उपचार छैन, यसपाली कसरी खेती उतार्ने खै ?”, किसान चन्द्र राईले गुनासो गर्नुभयो ।
भोजपुरमा पछिल्लो एक महिनाको अन्तरालमा यो रोगको प्रकोप बढेको हो । गाईबस्तुको छालामा बिबिरा आउने, पाक्ने, र गाईबस्तुमा कडा ज्वरो आउने प्रकोप बढेको छ । रोगको प्रकोप गर्मी बढेसँगै विभिन्न माध्यमबाट एक पशुदेखि अर्कोमा सर्ने गरेको तथ्याङ्कले देखाएको छ, यसको नियन्त्रणका लागि गाउँपालिकाका प्रभावित क्षेत्रमा भ्याक्सिनेसनमा जोड दिनुपर्ने पशु सेवाकर्मीहरूको भनाई रहेको छ ।
भोजपुरमा यसका रोकथामका लागि स्थानीय तहहरुले एन्टिबायोटिक्स औषधि, घाउमा लगाइने फिनेल, चार्मिल, पोटासियम पर्मानेन्ट लगायतका औषधीहरू उपलब्ध गराउन थालेका छन् ।








प्रतिक्रिया राख्नुहोस्