तपाईँ सुन्दै हुनुहुन्छः

दोस्रो बृहत् बागमती खेलकुदको तयारी तीव्र

मकवानपुर । आगामी जेठ ७ गतेदेखि १३ गतेसम्म हेटौँडामा आयोजना हुने दोस्रो बृहत् बागमती खेलकुदको तयारी तीव्र पारिएको छ । 

बागमती प्रदेश खेलकुद परिषद्को आयोजनामा हुने प्रतियोगिताको खेलस्थल निर्माण लगायतको काम अन्तिम चरणमा पुगेको प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले जानकारी दिनुभयो ।

बागमती प्रदेशको खेलकुदको कुम्भमेलाको रुपमा लिइएको दोस्रो संस्करणको प्रदेश खेलकुद प्रतियोगिता हुने खेल स्थलमा भौतिक पूर्वाधारको काम अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । 

प्रदेश खेलकुदको दोस्रो संस्करणमा फुटबल, भलिबल, एथ्लेटिक्स, बक्सिङ, ब्याड्मिन्टन, कराँते, तेक्वान्दो, रग्बी, उसु, आइटीएफ तेक्वान्दो, पौडी र जुडो गरि १३ खेल समावेश गरिएको छ । 

प्रतियोगिताका १३ खेलमध्ये मकवानपुरमा ११ वटा खेल हुनेछ भने चितवनमा क्रिकेट र काठमाडौँमा पौडी खेल हुने उहाँले जानकारी दिनुभयो ।

भण्डारीका अनुसार प्रतियोगिताको उद्घाटन र समापन हेटौँडास्थित पिप्ले–क्याम्पा रङ्गशालामा हुने छ । 

दोस्रो प्रदेश खेलकुदका लागि खेलाडीहरू उत्साहित रहेको र प्रदेशका १३ वटै जिल्लाहरूमा उपाधि जित्ने तरिकाले उत्कृष्ट तयारी भइरहेको उहाँले बताउनुभयो । उहाँले दोस्रो प्रदेश खेलकुदमा ४ हजारभन्दा बढी खेलाडी, पदाधिकारी र व्यवस्थापकको सहभागिता रहने जानकारी दिनुभयो । 

प्रदेश खेलकुदका लागि परिषद्ले ९ करोड ६७ लाख रुपैयाँ लागत अनुमान गरेको छ । 

यसैबीच शुक्रबार (हिजो) प्रदेश खेलकुद विकास परिषद्को १३औँ बोर्ड बैठकले प्रतियोगिता सभ्य र भव्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button