सेवा घरद्वारा ८ सय ५० व्यक्तिको उद्धार
भक्तपुर । मानव कल्याण समाज (सेवा घर)ले बेसाहारा, सडकमा अलपत्र मानव र अपाङ्गता भएका व्यक्ति गरी ८५० जनाको उद्धार गरेको छ ।

समाजकी अध्यक्ष सुमित्रा चौलागाईले आठ वर्षअघि सात जना सडकमा अलपत्र मानवलाई सडकमै गएर खाना ख्वाएर शुरु भएको अभियान अन्तर्गत हाल भक्तपुरसहित काभ्रे, काठमाडौँ, दाङ र बाराका छ शाखामा गरी ८५० लाई उद्धार गरी व्यवस्थित रुपमा राखिएको जानकारी दिनुभयो ।
यो अवधिमा बेसाहारा, सडकमा अलपत्र मानव, अपाङ्ग गरी ८५० को उद्धार र उपचार गरी करिब ४ सयलाई परिवारमा पुनःमिलन गरिएको उहाँले बताउनुभयो । अध्यक्ष चौलागाईले शुरु सुरुमा यस्तो कार्य थाल्दा परिवार र समाजबाट आफु लगायतका सात जना स्वयंसेवी नै बेसाहारा र तिरस्कृत बन्नु परेको उदाहरण प्रस्तुत गर्दै पछिल्लो समय केही पालिका, स्थानीय दानवीर लगायतका सहयोगी हातहरू बढ्दै जाँदा व्यवस्थापनमा सहजता भएको बताउनुभयो ।

मानव कल्याण समाज (सेवा घर)को पाचौं वार्षिकोत्सवको अवसरमा शुभकामना आदानप्रदान तथा दीप प्रज्ज्वलन कार्यक्रममा चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्रीले समाजले चाँगुनारायणबाट शुरु गरेको अनाथ, असहायहरूको उद्धार तथा पुनःस्थापनाको कार्य मुलुकभरमै उदाहरणीय रहेको बताउनुभयो ।
कार्यक्रममा चाँगुनारायण नगरपालिका २ का वडाध्यक्ष सोम प्रधानले असहाय, सडक मानवको उद्धार गरी समाजमा पुनः स्थापना गरेर मानव कल्याण समाजले ठुलो पुण्यको काम गरेको बताउँदै आफूले वडा सदस्य हुँदादेखि नै समाजलाई सहयोग गर्ने प्रयत्न गरेको बताउनुभयो ।
ब्रह्म कुमारी राजयोग सेवा केन्द्रकी बि.के.अम्बिकाको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रिय सञ्चार केन्द्र नेपालका अध्यक्ष पेशल आचार्य, गायक नवीन कार्की, वडा सदस्य मुना गुरुङ, समाजसेवी गोविन्द थापा र राजेश देउजा लगायतले पुण्यको काममा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा सेवा घरका शुभेच्छुक, शुभचिन्तक, सेवा प्रेमीहरूको उपस्थित रहेको थियो ।

सोही अवसरमा नगर प्रमुख खत्रीले सेवा घरमा रहेका ५० जना आमाबुवालाई साँझको भोजन गराउनुका साथै थप भोजन सेवाको लागि नगद नौ हजार प्रदान गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्