तपाईँ सुन्दै हुनुहुन्छः

सीमा नाकामा मानव बेचबिखनको जोखिममा परेका ३ सय ४१ जनाको उद्धार

भैरहवा । नेपालको दक्षिण सीमा नाकाबाट अवैध रुपमा सामान तस्करी देखि मानव तस्करीसम्म हुने गरेको छ । 

सम्भावित मानव बेचबिखनको जोखिममा परेकाहरूलाई सरकारी संस्था र गैरसरकारी संस्थाले उद्धार गर्दै आइरहेका छन्, तरपनि दलालले मानिसलाई बेचबिखनका लागि लोभ लालचमा पारी बेचबिखन गरिरहेका छन् । 

सन् २०१९ सेप्टेम्बरबाट भैरहवामा शाखा खोलेर काम सुरुवात गरेको संस्था शुभ अवसर ग्राम नेपालले उद्धारसँगै सामुदायिक पुनःउत्थान, द्वार गरि पछिल्लो साढे तीन वर्षमा ३ सय ४१ जनाको उद्धार गरेको छ ।

सीमामा खटिएर काम गरिरहेको उक्त संस्थाको भैरहवा शाखाले रुपन्देहीको बेलहिया, मर्चवार, लुम्बिनी सांस्कृतिक नगरपालिकाको कालीदह र रोहिणी गाउँपालिकाको भगवानपुर नाकामा बेचबिखनविरुद्ध सक्रिय रुपमा काम गरिरहेको छ ।

नेपालका सीमानाका तथा भारतका विभिन्न ठाउँबाट त्यतिको सङ्ख्यामा बच्चादेखि वृद्धसम्मलाई उद्धार गरिएको जनाएको छ । परियोजनाका भैरहवा शाखा संयोजक सत्यनारायण यादवले पछिल्लो एक वर्षमा मात्रै नेपाल–भारत सीमा क्षेत्र तथा भारतका विभिन्न सहरहरूबाट १ सय ८५ जनाको उद्धार गरि परिवार तथा आफन्तलाई जिम्मा लगाएको बताउनुभयो ।

‘परियोजना सुरु पछि हामीले कयौँ फकाएर, झुक्याएर भारततर्फ लगिँदै गरेका, भारतमा बेचिएका, यौनधन्दामा लगाइएका बालिका, किशोरी, युवती र अधबैँसे महिलाहरूलाई उद्धार गरेर आफन्तको जिम्मा लगाएका छौँ, कयौँलाई आयआर्जनका लागि पनि सहयोग गरेका छौँ’, यादवले भन्नुभयो, ‘यसरी उद्धार गरेर ल्याइएका अधिकांश महिलाहरू अहिले खुशी हुनुहुन्छ, धेरै त परियोजनाको सहयोगमा स्वरोजगार पनि बन्नु भएको छ ।’ उद्धार गरिएकाहरूलाई संस्थामा सेल्टरमा राखेर आफन्तको जिम्मा लगाउने गरिएको छ । भैरहवामा संस्थाको २० जना अट्न सक्ने क्षमताको सेल्टर छ ।

परियोजना संयोजक यादवका अनुसार यसरी बेचबिखनमा पर्नेहरू भारतमा पुगेर घरेलु कामदारका रुपमा काम गर्ने, हिंसामा पर्ने धेरै छन् । यस्ता महिलाहरूमा अधिकांश १२ देखि ४५ वर्ष उमेर समूहका धेरै छन् । ‘हामीले उद्धार गरेकामध्ये यो उमेर समूहका अत्यधिक पाएका छौँ, उमेर पुगेकाहरू नै प्रलोभनमा पर्दा मानव बेचबिखन नियन्त्रण हुन नसकेको हो की भन्ने पनि छ । यद्यपि हामीले उद्धार गरिएकाहरूलाई काउन्सिलिङ गरेर पूर्ववत् अवस्थामा फर्काउन सकेका छौँ’, उहाँले भन्नुभयो ।

परियोजना सुरु भएयता उद्धार गरिएका महिलाहरू मुलुकभरका छन् । यादवले जनाएअनुसार ४५ बढी जिल्लाका महिलाहरूलाई उद्धार गरिएको छ । ‘उद्धार गरेका बालिका तथा महिलाहरूको इतिहास हेर्ने हो भने धेरै आफन्त तथा नातागोता, मामा, भिनाजु, दाइ, साथीहरू र केही प्रेममा परेर पनि भारत जाने गरेको पाइएको छ’, संयोजक यादवले भने, ‘आफन्तले नै भारतमा लगेर घरेलु काममा लगाउने, यौन क्रियाकलापमा संलग्न गराउने, आर्केस्टमा काम गराउने र हिंसा हुने, घरेलु हिंसामा पर्ने गरेको पाइएको छ ।’

यसरी भारततर्फ जाने, बेचिनेहरूमा अधिकांश मुलुकका पहाडी जिल्लाका, गरिब, विपन्न, दलित, बेरोजगार,अल्पसङ्ख्यक, जनजाति तथा सुकुम्बासी बस्तीका महिलाहरू, अशिक्षित वर्गका छन् । 

संस्थाको अभिलेख अनुसार दलालले यस्ता क्षेत्रका महिलाहरूलाई बढी चासोका साथ भारततर्फ लग्ने गरेको शुभ अवसर ग्राम नेपालका सामाजिक  परिचालन अधिकृत विकास देवकोटाले जानकारी दिनुभयो । 

शिक्षित, हुनेखाने वर्ग र सहरबाट न्युन मात्रामा महिलाहरू बेचिने गरेका छन्, देवकोटाले भने, पछिल्लो समय बुटवलको सुकुम्बासी बस्तीका महिलाहरू बढी मात्रामा भारतमा बेचिने र यौनधन्दामा संलग्न भेटिने गरेको छ ।

‘आर्केस्टमा जागिर लगाइदिने भनेर दलालले महिलाहरू लैजाने र केही समय जागिर पनि लगाइदिने गरेको हामीले पाएका छौँ देवकोटा भन्नुहुन्छ, ‘बिस्तारै यौनधन्दामा फसाउने, लगाउने र दलालले त्यसबापत मोटो रकम बुझ्ने गरेका छन् ।’ कतिपय महिलाहरूलाई बन्धकै बनाएर गलत काममा लगाउने गरेको पाइएको देवकोटाको तर्क छ ।

संस्थाले परियोजना सुरु गरे यता रुपन्देहीका सीमा क्षेत्रमा १४ हजार बढी नागरिकलाई मानव वेचविखनविरुद्ध सचेतना गराएको जनाएको छ । परियोजनाले जिल्लाका अन्य जोखिमयुक्त नाकाहरूमा पनि सीमा निगरानी बढाउने तयारी गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button