राष्ट्रिय वीच भलिबल: गण्डकी र लुम्बिनी दोस्रो चरणमा

पाल्पा । पाल्पाको रानीमहलमा हिजोबाट सुरु भएको राष्ट्रिय वीच भलिबल प्रतियोगितामा विभागीय टिम आर्मीले विजयी सुरुवात गरेको छ ।
दुई खेलमा गण्डकी प्रदेश विजयी भयो भने सुदूरपश्चिम मैदानमा उपस्थित नभएपछि लुम्बिनी स्वतः विजयी घोषित भएको छ । रानीमहल परिसरमा भएको भएको प्रतियोगिताको पहिलो खेलमा आर्मीले लुम्बिनी प्रदेशलाई सोझो सेटमा हराएको छ । यस्तै गण्डकी प्रदेशले पनि आयोजक पाल्पा भलिबल सङ्घलाई सोझो सेटमा हराएको छ ।
त्रिभुवन आर्मीले लुम्बिनी प्रदेशलाई २१–१५ र २१–११ को सेटमा पराजित गर्यो भने गण्डकीले आयोजकमाथि २१–११ र २१–१५ को सेटमा जित निकालेको छ । तेस्रो खेलमा सुदूरपश्चिम मैदानमा उपस्थिति हुन नसकेपछि लुम्बिनी प्रदेश स्वतः विजयी भएको छ । यस्तै चौथो खेलमा गण्डकी प्रदेशले बागमतीलाई सोझो सेटमा पराजित गरेको छ । गण्डकीले बागमतीमाथि २१–१६ र २१–१५ को सेटमा जित निकालेको छ । सञ्जय मेमोरियल फाउन्डेसनको आयोजना र पाल्पा भलिबल सङ्घको सहआयोजनामा सुरु प्रतियोगितामा कोशी बाहेक ६ प्रदेश, तीन विभागीय क्लब र आयोजक गरी १० टिम सहभागी छन् ।
वीच भलिबलमार्फत पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको विजेता टिमले १ लख ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल प्राप्त गर्नेछ । उपविजेता टिमले १ लाख रुपैयाँ सहित ट्रफी, मेडल, तेस्रो हुने टिमले ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल र सान्त्वना हुने टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ट्रफी सहित १० हजार रुपैयाँ प्राप्त गर्ने फाउन्डेसनकी अध्यक्ष निरोज मास्केले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्