गृह प्रशासन र सुरक्षा निकायमा योगको नियमित प्रशिक्षण गराइने
काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले योग आफैँमा परम्परागत चिकित्सा पद्धति र जीवनशैली भएको बताउनुभएको छ ।
पतञ्जलि योग पीठ नेपालको तत्त्वावधानमा आज सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा आयोजित योग शिविरलाई सम्बोधन गर्दै उहाँले योग वैज्ञानिक र व्यवहारिक रहेकाले यसले चित्त सुद्धी र अनुशासन कायम गर्दै सकारात्मक ऊर्जाका साथ स्वस्थ जीवन जीउन प्रेरित गर्ने उल्लेख गर्नुभयो ।
उपप्रधानमन्त्री श्रेष्ठले गृह मन्त्रालय अन्तर्गत गृह प्रशासन तथा सुरक्षा निकायमा पनि योग र ध्यानलाई नियमित गर्ने गरी शिविर सञ्चालनका साथै यसलाई नियमित अगाडि बढाइने समेत बताउनुभयो ।
उहाँले योगलाई जीवनपद्धति तथा जीवन संस्कृतिको रुपमा आत्मसाथ गर्न सकियो भने सिङ्गो मानव समाजलाई सकारात्मक बनाउनाका आ–आफ्नो कार्यक्षेत्रको कार्य सम्पादनमा राम्रो परिणाम ल्याउन योगदान पुर्याउने बताउनुभयो ।
पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक ज्ञानेन्द्र विक्रम महतले संयोजन गर्नुभएको शिविरमा पतञ्जलि योग समिति नेपालको प्रमुख लवदेव मिश्र, महिला सह प्रभारी अर्चना घिमिरे र युवा लोकनाथ खनालले योग प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा गृहसचिव दिनेश भट्टराई, प्रहरी महानिरीक्षक बसन्त कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकको सहभागिता थियो ।






प्रतिक्रिया राख्नुहोस्