तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा बैठक : विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल

काठमाडौँ । प्रतिनिधि सभामा आर्थिक वर्ष २०८०/०८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल जारी रहेको छ । 

अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रस्तुत गर्नु भएको कर प्रस्ताव बाहेक बजेटका सिद्धान्त तथा प्राथमिकता माथिको छलफलमा सांसदहरुले कृषिको व्यवसायीकरण र बजारीकरण गर्ने, ग्रामीण विकासमा ध्यान दिने, घाटा कम गर्ने, भएका प्राकृतिक स्रोत साधनको सही उपयोग गर्ने तर्फ आगामी कार्यक्रममा विशेष ध्यान दिइनुपर्नेमा जोड दिनुभयो । 

सांसदहरूले अबको दशकको विकासका लागि नीतिगत साझा दृष्टि निर्माण गरेर अगाडि बढ्नुपर्ने भन्दै अहिले देखिएको आर्थिक चुनौती सबैको साझा चुनौती भएकाले यसको समाधानका लागि सबैले साझा रुपमा प्रयत्न गर्नु पर्ने बताउनु भयो ।  

उहाँहरूले ८० को दशकलाई समृद्ध दशक बनाउन स्थिर सरकार र संसद्, भ्रष्टाचारमा शुन्य सहनशीलता, भ्रष्टाचारको छानबिन, उत्पादन वृद्धि, लगानीमैत्री वातावरणको निर्माण, योजनाबद्ध विकास, रेमिट्यान्सको हाइड्रोमा लगानी लगायतका कुरामा विशेष ध्यान दिन आग्रह गर्नु भयो । 

बजेटका सिद्धान्त तथा प्राथमिकता (पूर्व–बजेट) माथि छलफलमा सांसदहरुले आर्थिक सङ्कटबाट मुलुकलाई जोगाउने, उत्पादनशील क्षेत्रलाई बलियो बनाउने, अनुत्पादक चालु खर्च घटाउने, समान्तर कार्यालय घटाउने, राष्ट्रिय आत्मनिर्भरका कार्यक्रम लागु गर्नु पर्ने, कृषि आयात घटाउने गरी कार्यक्रम आउनु पर्नेमा जोड दिनुभयो ।

सांसदहरुले दिगो विकासका कार्यक्रमलाई पुरा गर्ने गरी विधेयकका सिद्धान्त र प्राथमिकता आउन नसकेको, आर्थिक संकट र चुनौती लाई ध्यान नदिइएको, कृषि उत्पादन र बजारीकरण प्राथमिकतामा पर्न नसकेको बताउनु भयो । 

सांसदहरुले देश आर्थिक सङ्कटमा उभिएकाले समस्याको सही पहिचान गरेर अगाडी बढ्नु पर्ने, जनतालाई देश, सरकार र राज्य मेरो हो भन्ने अनुभूति दिने गरी कार्यक्रम ल्याउनु पर्ने, राजनीतिक स्थिरता कायम गर्न सक्नु पर्ने  र सबै भन्दा बढी नागरिक आश्रित रहेको कृषि क्षेत्रको लगानी बढाउनु पर्नेमा जोड समेत दिनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button