तपाईँ सुन्दै हुनुहुन्छः

दिगो आर्थिक विकास हासिल गर्न र रोजगारी सिर्जना गर्नेतर्फ बजेट परिलक्षित हुने : अर्थमन्त्री महत

काठमाडौँ । प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको बजेट अधिवेशन आजदेखि सुरु भएको छ । 

प्रतिनिधि सभाको आज बसेको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/८१को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता माथि छलफल गरियोस् भनी प्रस्ताव पेश गर्नुभयो । 

बैठकमा प्रस्ताव पेश गरेपछि अर्थमन्त्री डा. महतले आगामी आर्थिक वर्षको बजेट दिगो, फराकिलो र समुन्नत आर्थिक विकास हासिल गर्ने, रोजगारी सिर्जना गर्ने तथा सेवा प्रवाहलाई प्रभावकारी बनाई सुशासन कायम गर्ने तर्फ परिलक्षित हुने बताउनुभयो । 

अर्थमन्त्री डा महतले आर्थिक समस्याका बीच आउन लागेको आगामी आर्थिक वर्षको बजेट वित्तीय घाटालाई वाञ्छित सीमा भित्र राख्न र बाह्य क्षेत्रको सुधार गर्न केन्द्रित रहने पनि बताउनुभयो ।

अर्थमन्त्री डा महतले बजेटमा कृषि उपजको परनिर्भरता कम गर्न रैथाने बालीलाई प्रोत्साहन गर्ने, व्यावसायिक पशुपालन तथा नस्ल सुधारमा जोड दिइने, लघु घरेलु तथा साना उद्योगलाई प्राथमिकता दिने र तुलनात्मक रुपमा बढी लाभ र प्रतिफल आउने क्षेत्रमा लगानी बढाउने बताउनुभयो । 

ठूला र रणनीतिक महत्त्वका आयोजनाहरूले प्राथमिकता पाउने उल्लेख गर्दै अर्थमन्त्री डा. महतले राष्ट्रिय गौरवका आयोजना आयोजनाहरूमा बजेट अभाव नहुने बताउनुभयो । 

ऊर्जा, सिँचाई, कृषि, उद्योग कलकारखाना तथा पर्यटन प्रवद्र्धनलाई विशेष महत्त्वका साथ सरकारले अगाडि बढाउने र वैदेशिक व्यापार घाटा न्यूनीकरणका लागि निजी क्षेत्रसँग सहकार्य र हातेमालो गरी अगाडि बढ्ने पनि अर्थमन्त्री डा. महतले बताउनुभयो । 

यस अघि प्रतिनिधि सभाको आजको बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० पेश गर्नुभयो । 

सरकारले अनुचित लेनदेन तथा मिटरव्याज पीडितका समस्या समाधान गर्ने उद्देश्यले सो अध्यादेश जारी गरेको थियो । 

यस अघि बैठकमा बोल्दै सांसदहरूले नक्कली भुटानी शरणार्थीका सम्बन्धमा छानविन गरी दोषीलाई कारबाही गर्नुपर्ने, दोषी कोही पनि नउम्कोस् तर निर्दोष कोहिपनि नफसोस् त्यस तर्फ भने सचेत भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । 

यस्तै बैठकमा सत्तापक्षीय सांसदहरूले अघिल्लो संसदले पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाएको नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरण गराई छिटो कार्यान्वयनमा ल्याउनुपर्ने माग गर्नुभयो भने विपक्षी सांसदहरूले त्यो विधेयक अव अगाडि बढाउन नहुने बताउनुभयो । 

प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान ११ बजे बस्ने छ । 

यसैगरी राष्ट्रियसभाको आज बसेको बैठकमा पनि अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा सभामा छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभयो । 

यस्तै बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले “मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०” सभा समक्ष पेश गर्नुभयो । 

राष्ट्रिय सभाको बैठकमा पनि सांसदहरु नक्कली भुटानी शरणार्थी प्रकरणका बारेमा सत्यतथ्य छानविन हुनुपर्ने, शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा बजेट बढाउनुपर्ने माग गर्नुभयो । 

राष्ट्रिय सभाको अर्को बैठक भोलि बिहान साढे १० बजे बस्ने छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button