प्रेस बलियो भए लोकतन्त्र बलियो हुन्छ : अध्यक्ष लम्साल

बारा । नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले प्रेस बलियो भए लोकतन्त्र बलियो हुने बताउनुभएको छ ।
नेपाल प्रेस युनियन बाराको सातौँ जिल्ला अधिवेशनको कलैयामा उद्घाटन गर्नुहुँदै अध्यक्ष लम्सालले पत्रकारहरूको भौतिक सुरक्षा, श्रमजीवी पत्रकारहरूको पारिश्रमिक प्रदान गराउने अभियानमा नेपाल प्रेस युनियन लागिरहेको बताउनुभयो ।
उहाँले निष्पक्ष, तटस्थ र पेसाप्रति मर्यादित भई कसैसँग नडराई पूर्वाग्रही नभई काम गर्न सबै पत्रकारहरूलाई आग्रह गर्नुभयो ।
पत्रकारितामा पनि शुद्धीकरण अभियान चलाउने कामको थालनी भइसकेको उल्लेख गर्नुहुँदै अध्यक्ष लम्सालले अन्य पेसामा आबद्ध रहेका व्यक्तिहरूलाई पत्रकारिताबाट बिदा लिनुपर्ने कुरामा सुझाव दिनुभयो ।
संविधानसभाका सदस्य डा. शोभाकर पराजुलीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा जहिले पनि नेपाली काँग्रेसले आवाज बुलन्द गर्ने गरेको बताउनुभयो । उहाँले देशको चौतर्फी एवम् बृहत्तर विकासका लागि पनि प्रेस बलियो हुनुपर्नेमा आफु विश्वस्त रहेको उहाँको भनाइ छ ।

शाखाका जिल्ला अध्यक्ष श्यामबाबु यादवको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रिय सचिव दीपेन्द्र चौहान, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य गणेशराज रिजाल, मधेस प्रदेशका अध्यक्ष सत्यप्रसाद श्रेष्ठ, टे«ड युनियनका जिल्ला अध्यक्ष विश्वमणि शर्मा, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष राजकिशोर सहनी, युनियन बाराका सचिव साजिर मंसुरले आफ्ना भनाई राख्नुभएको थियो ।
जिल्ला अधिवेशनको बन्द सत्रले नेपाल प्रेस युनियनको जिल्ला अध्यक्षमा पुनः श्यामबाबु प्रसाद यादव सर्वसम्मत निर्वाचित हुनुभएको छ । त्यस्तै, उपाध्यक्ष खुल्लामा बसन्त खतिवडा, समावेशी उपाध्यक्षमा अनिल साह, सचिव राजेश कुसवाहा, सहसचिवमा बिनिता चौधरी र कोषाध्यक्षमा अरुण कुमार साहसहित १५ जनाको कार्य समिति सर्वसम्मत निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत एकरामुल हकले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्