तपाईँ सुन्दै हुनुहुन्छः

तेस्रो संस्करणको दुहबी रन दौड प्रतियोगिता सम्पन्न

सुनसरी । दुहबी नगरपालिकाका नगर प्रमुख वेद नारायण गच्छदारले युवा वर्गलाई सिर्जनशील तथा उद्यमशील बनाउन लगानी बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

सुनसरीको दुहबीमा दुहबी जेसीजको आयोजना तथा दुहबी नगरपालिकाको संयोजनमा ‘स्वास्थ्यका लागि दौड’ नाराका साथ तेस्रो संस्करणको दुहबी रन दौड प्रतियोगिताको शुभारम्भ गर्दै नगर प्रमुख गच्छदारले युवा पिँढीमा रहेका क्षमताको उजागर गरी दिगो विकासको लक्ष्य हासिल गर्न सकिने बताउनुभयो ।

दुहबी जेसीजको आयोजनामा भएको दौड प्रतियोगितामा खुल्लातर्फ १० कि.मी.को दौडमा १२५ जना, महिलातर्फ ५ कि.मी.को दौडमा ३० जना तथा १२ वर्ष मुनिका ११५ जनाको सहभागिता रहेको थियो । दुहबी वडा नं. ५ स्थित श्री सरस्वती मा.वि.को खेल मैदानबाट शुरु भएको प्रतियोगिता दुहबी चोक, सोनापुरचोक, जुट मिल हुँदै पुनः श्री सरस्वती मा.वि.को खेल मैदानमा पुगेर समापन भएको थियो ।

प्रतियोगितामा खुल्लातर्फ गजेन्द्र राई प्रथम, मोहन देव जोशी दोस्रो र श्रीकाश राई तेस्रो भएका छन् । उनीहरूले क्रमशः नगद २१ हजार १ सय, १५ हजार १ सय र ११ हजार १ सय रुपैयाँ प्राप्त गरेका छन् ।

महिलातर्फ छेन्वीमाया राई प्रथम, अन्शु कुमारी मण्डल दोस्रो र जमुना लिम्बु तेस्रो भएका थिए । उनीहरूले क्रमशः नगद ११ हजार १ सय, ६ हजार १ सय र ३ हजार १ सय प्राप्त गरे ।

यस्तै १२ वर्ष मुनितर्फ सिजन खत्री प्रथम, सचिन वि.क. दोस्रो र आङदावा शेर्पा तेस्रो भएका छन् । उनीहरूले क्रमशः नगद ५ हजार १ सय, २ हजार १ सय र १ हजार १ सय रुपैयाँ प्राप्त गरेका छन् ।

विजयीहरूलाई दुहबी नगरपालिकाका प्रमुख वेद नारायण गच्छदारले पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button