तपाईँ सुन्दै हुनुहुन्छः

‘मिस्टर एण्ड मिस नेशनल नेपाल २०२३’ मा एक्काइस प्रतियोगी

काठमाडौँ I नेपालमा सौन्दर्य प्रतियोगिता हुने सङ्ख्या बढिरहँदा तेस्रो संस्करणको आयोजनाको तयारीमा रहेको ‘मिस्टर एण्ड मिस नेशनल नेपाल’ मा आकर्षण बढिरहेको आयोजक संस्था सनुर्भी इन्टरनेशनल प्रालिले जानकारी दिएको छ।

काठमाडौँमा प्रतियोगिताबारे जानकारी दिन आयोजित कार्यक्रममा काठमाडौँसँगै इटहरी, धनगढी र पोखरामा भएको अडिसनमार्फत छनौट भएका एक सय ७० बाट छत्तीस र त्यसबाट छानिएका एक्काइस जना प्रतियोगीले प्रतिस्पर्धा गरिरहेको नेपाल निर्देशक सन्तोष उपाध्यायले जानकारी दिनुभएको छ। 

अन्तिम प्रतिस्पर्धा हुने प्रतियोगितामा विदेशमा बसोबास गरिरहनुभएका, एनआरएन,सौन्दर्य प्रतियोगिता विजेतासमेत रहेका मिस जर्मनी समा पराजुली, मिस डायमन्ड सरोजी न्यौपाने , मिस सुदूरपश्चिम रोशनी चन्द, मिस पूर्वेली सुपर मोडल सुम्निमा खातुन, मिस टिन रनरअप सुष्मिता अधिकारी, मिस बाग्लुंग सकुना खत्री, हाउस अफ फ्यासन शिशिर वाग्ले, मिस्टर टिन रनरअप साइरस विश्वकर्मासमेत प्रतियोगीकै रूपमा प्रतिस्पर्धा गरिरहेको बताउनुभएको छ। 

‘मैले आफै प्रतियोगीको रूपमा मिस एण्ड मिस्टर सुप्रानेशनलमा सहभागी भएर चौथो स्थानको विजेता बनेपछि अवसरको सिर्जना गर्नुपर्छ भनेर यसलाई नेपालमा सुरु गरेको हुँ। यसप्रति बढिरहेको आकर्षणले थप दायित्व बोध गराएको छ। अन्य प्रतियोगितामा विजेता तथा सहभागी हुनुभएको समेत हाम्रो अन्तिम एक्काइसमा छन्’, नेपाल निर्देशक उपाध्यायले भन्नुभयो ,‘यसपटक मिस ग्लोब र मिस्टर इन्टरनेशनलको शीर्षकसमेत थपेका छौँ। हामीले प्रतियोगिता निष्पक्ष होस् भनेर अन्तर्राष्ट्रिय विजेतालाई नै निर्णायक समेत बनाउने गरेका छौँ।’

प्रतियोगिताको निर्णायकमा ‘मिस्टर सुप्रानेशनल २०१८’ का विजेता प्रथ्मेश मौलिङ्ग्कार रहनुभएको छ। यो सौन्दर्य प्रतियोगिता भएता पनि यसमा सामाजिक कार्यमा दिएको योगदानसमेत मूल्याङ्कन हुने प्रावधान रहेको छ। प्रतियोगितामा  पुरुष, महिला, समलिङ्गीसँगै एकल रूपमा जीवन बिताइरहेकाले समेत सहभागिता जनाउन पाउनेछन्। 

प्रशान्त ताम्राकारको कोरियोग्राफी रहने प्रतियोगितामा दुई पुरुष र दुई महिला गरेर चार विजेता छानिनेछन् । जस मध्य पुरुष विजेताले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस्टर सुप्रन्यासनल र मिस्टर इन्टरनेशनलमा सहभागिता जनाउनेछन् भने महिला विजेताले मिस सुप्रन्यासनल र मिस ग्लोबमा सहभागीको अवसर प्राप्त गर्नेछन् । 

अर्थात् विजेताले अन्तर्राष्ट्रिय रूपमा आयोजना हुने चार प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउनेछन्। गत वर्षको प्रतियोगितामा निर्णायकको रुपमा ‘मिस्टर सुप्रानेशनल २०२१’ भरो भार्गाेस, ‘मिस सुप्रानेशनल २०१९’ एन्टोनियो पोर्सिल्ड र मिस सुप्रानेशनलका आयोजकका क्रिएटिभ डाइरेक्टर आन्द्रे स्ले नेपाल आउनुभएको थियो। यसको फिनाले जेठ १ गते हुनेछ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button