तपाईँ सुन्दै हुनुहुन्छः

रुकुम (पूर्व) मा बीमा सचेतना कार्यक्रम सम्पन्न

रुकुम (पूर्व) । नेपाल बीमा प्राधिकरण, लुम्बिनी प्रदेश कार्यालयको आयोजनामा रुकुम (पूर्व) जिल्लाका भूमे गाउँपालिका र पुथा उत्तरगङ्गा गाउँपालिकामा बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

भूमे गाउँपालिकामा यही वैशाख १८ गते भएको कार्यक्रममा भूमे गाउँपालिकाका अध्यक्ष होम प्रकाश श्रेष्ठले बीमासम्बन्धी कार्यक्रम ल्याउन गाउँपालिका तयार रहेको जानकारी दिनुहुँदै बीमासम्बन्धी नीति तर्जुमामा आवश्यक सहयोग गर्न नेपाल बीमा प्राधिकरणसँग आग्रह गर्नुभयो ।

यसैगरी, पुथा उत्तरगङ्गा गाउँपालिकामा यही वैशाख १७ गते आयोजित कार्यक्रममा पुथा उत्तरगङ्गा गाउँपालिकाका अध्यक्ष पुनीराज घर्तीले बीमासम्बन्धी सचेतनामूलक कार्यक्रम आयोजना गरी बिमाका बारेमा जानकारी दिएकोमा प्राधिकरणप्रति आभार प्रकट गर्नुभयो ।

ती कार्यक्रममा सहभागीहरूले भौगोलिक विकटतालाई ध्यानमा राखी बीमा गरिएका पशुपन्छीको क्षति हुँदा भिडियो बनाउनुपर्ने व्यवस्था हटाउनुपर्ने, समयमै बीमा दाबी भुक्तानी नपाएको, बीमा सर्भेयरले क्षति भएको सम्पत्तिको कम मूल्याङ्कन गर्ने गरेको, बीमा कम्पनीले खच्चड र बङ्गुरको बीमा गर्न नमानेको लगायतका धारणा राखेका थिए ।

कार्यक्रमहरूमा नेपाल बीमा प्राधिकरण, लुम्बिनी प्रदेश कार्यालयका प्रमुख पूर्ण बहादुर थापाले आर्थिक चन्दा, पुरस्कार लगायतका लागि छुटाइएको रकमबाट नागरिकको बीमा गर्नु उचित हुने सुझाव दिनुभयो ।

उहाँले गाउँपालिकाका आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा बिमालाई समावेश गर्न आग्रह गर्नुहुँदै बीमासम्बन्धी नीति तर्जुमामा आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउन प्राधिकरण तयार रहेको बताउनुभयो ।

कार्यक्रमहरूमा सम्बन्धित गाउँपालिकाका वडा अध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीहरू, बीमा कम्पनीका शाखा कार्यालयका प्रमुख/प्रतिनिधिहरू लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button