तपाईँ सुन्दै हुनुहुन्छः

‘नेपाल युरोपियन फिल्म फेस्टिभल’ भोलि सुरु हुँदै

सुर्खेत । सुर्खेतमा ‘नेपाल युरोपियन फिल्म फेस्टिभल’ भोलि शुरु हुने भएको छ ।

‘नेपाल युरोपियन फिल्म फेस्टिभल २०२३’ को १२ औँ संस्करण सुर्खेतमा आयोजना गर्न लागिएको नेपालस्थित द डेलिगेसन अफ युरोपियन युनियन नेपालले आज सुर्खेतमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।

मानवअधिकारको नारा लिएर वैशाख २० देखि २२ गतेसम्म सुर्खेतस्थित मध्यपश्चिम विश्वविद्यालयको सभाहलमा आयोजना गर्न लागिएको फिल्म फेस्टिभलमा युरोपका ८ र नेपाली युवा फिल्मकर्मीले निर्माण गरेका लघु फिल्महरू समेत प्रदर्शन गरिने नेपालका लागि युरोपियन युनियनकी राजदूत नोना डेप्रेजले जानकारी दिनुभयो ।

उहाँले महोत्सवमा ‘मानवअधिकार प्रवर्द्धनमा फिल्मको भूमिका’ र ‘चलचित्रलाई कसरी बुझ्ने’ भन्ने शीर्षकमा अन्तरक्रियात्मक छलफल समेत हुने बताउनुभयो । उहाँका अनुसार ‘एनी डे नाउ’ शीर्षकको फिल्म देखाउँदै सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगरमा शुरु भएको फिल्म महोत्सव सुर्खेत हुँदै जेठ १ गते चलचित्र विकास बोर्डको हल काठमाडौँमा सम्पन्न हुनेछ ।

महोत्सवमा प्रदर्शन हुने अन्य फिल्महरूमा अरस टी रिहानीले निर्देशन गरेका अस्कर एण्ड लीली (अस्ट्रिया), एण्ड्री बाग्नेले निर्देशन गरेका रमोना (स्पेन), दोनातो रोतुनले निर्देशन गरेका इयो स्टबने (लक्जेम्बर्ग, बेल्जियम, जर्मनी र इटली), जहाभी सन्जभीले निर्देशन गरेका इमादज चाइल्डहुड (स्विडेन, लाटभिया, इराक), इग्नस जोनसले निर्देशन गरेका इनभिजिवल (लिथुअनिया, लाटभीया, युक्रेन, स्पेन), डेभिड फ्रेनले निर्देशन गरेका डेटिङ्ग अम्बर (आयरल्यान्ड, युके) र डेभिड फ्रेनले निर्देशन गरेका मित्र (नेदरल्यान्ड) रहेका छन् ।

महोत्सवमा नेपाली फिल्महरू अङ्कित खड्गीको निर्देशनमा बनेको ‘आई वान्टेड टु बी लाइक माधुरी दीक्षित’, विशाल रोक्का मगरको ‘गोर्खा गर्ल’, ग्रीष्म गिरीको ‘ब्लुज अफ पिंक’, मिङ्सो लिम्बूको ‘जुन्को’, सुनिल पाण्डेको ‘बागथान’, पुनम पौडेलको ‘लिभिङ्ग विथ डिग्निटी’, दीपक रौनियारको ‘फोर नाइटस’ र दीपा श्रेष्ठको ‘ड्रिफ्टिङ क्लाउडस’ निःशुल्क देखाइने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button