तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा तीन सय हेक्टर जङ्गल डढेलोले नष्ट

सल्यान । सल्यानका तीन सयभन्दा बढी हेक्टर जङ्गल डढेलोले नष्ट भएको छ । 

डिभिजन वन कार्यालय सल्यानका अनुसार जिल्लाका अधिकांश वनमा आगलागी भएको छ । जसका कारण हालसम्म तीन सयभन्दा बढी हेक्टर क्षेत्रफल वन डढेलोले सखाप भएको हो । 

शारदा नगरपालिका–२ र छत्रेश्वरी गाउँपालिकाका–९ सामुदायिक वनमा डढेलो लागि रहेको डिभिजन वन कार्यालय सल्यानका कार्यालय प्रमुख जीतेन्द्र महतले जानकारी दिनुभयो । गर्मी मौसमसँगै डढेला लाग्ने क्रम जारी रहेको उहाँको भनाई छ । 

सामुदायिक वन उपभोक्ता समूह, वन कार्यालय र सुरक्षाकर्मीको मद्दतमा डढेलो नियन्त्रणमा लिने प्रयास भइरहेता पनि बढ्दो गर्मी र हावाका कारण नियन्त्रण गर्न कठिनाइ भइरहेको महतको भनाई छ । जिल्लाको अधिकांश भागमा सल्लाको वन भएकाले पनि डढेलो बढ्दै गइरहेको उहाँले बताउनुभयो । 

कार्यालयका अनुसार छत्रेश्वरी गाउँपालिकाको इन्द्रा सामुदायिक वन, ओखलढुङ्गा, भुवनेश्वरी, छत्रेश्वरी, पेदिखोला, सिसमखोली, खाराजडा, मालारानी र सिद्ध पोखरी सामुदायिक वन र शारदा नगरपालिकाको हरियाली र शारदा सामुदायिक वन उपभोक्ता समूहमा डढेलो लागिरहेको छ । 

कार्यालयले वन संरक्षण तथा डढेलो नियन्त्रण सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेता पनि उक्त कार्यक्रम प्रभावकारी भने देखिएको पाइँदैन । उपभोक्ताले पनि सल्लाकको कुसुम झर्दा हिँडडुल गर्न गाह्रो हुने तथा घाँस पलाउने आशमा डढेलो लगाउने गरेका छन् । 

जङ्गलमा लागेको आगो बस्तीमा पस्दा मानवीय क्षति नभए पनि आधा दर्जन घरगोठ जलेर नष्ट भइसकेका छन् । जङ्गलमा लागेको डढेलो नियन्त्रण गर्ने क्रममा दुई वर्षयता ४ जनाको मृत्यु भइसकेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button