कृषककाे हातमा लिसंखुपाखरकाे किवी टि–वार

सिन्धुपाल्चोक । किवी खेती गरि रहेका लिसंखुपाखर गाउँपालिकाका कृषकहरूलाई किवी टि–वार वितरण गरिएको छ ।
पालिकाको आ.व. ०७९/८० को स्वीकृत कार्यक्रम अन्तर्गत गाउँपालिका कृषि विकास शाखाद्वारा ५० प्रतिशत अनुदानमा २२ जना किवी खेती गर्ने किसानलाई किवी टि–वार वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत मङ्गलबहादुर विष्टले जानकारी दिनुभयो ।
किवीलाई थाक्रोको रुपमा प्रयोग हुने किवी टि–वार बुधबार गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विष्टले किसानलाई हस्तान्तरण गर्नुभयो । विष्टले पालिकाको किवी खेती प्रवद्वन कार्यक्रम अन्तर्गत किसानलाई ५० प्रतिशत अनुदानमा किवी टि–वार वितरण गरिएको बताउनुभयो । गाउँपालिकाले किसानसँग प्रत्यक्ष जोडिएर किवी र आलुलाई विशेष प्राथमिकतामा राखेर लगानी गरेको उहाँको भनाइ छ ।
वडाअध्यक्ष भक्तलाल शाक्यले गाउँपालिकाले अनुदान दिएको सामाग्रीलाई सही सदुपयोग गर्न आग्रह गर्नुभयो ।
गाउँपालिका कृषि शाखा प्रमुख सन्तोष नेपालका अनुसार लिसंखुपाखरमा एकसय भन्दा बढी किसानले किवी खेती व्यवसाय गरेका छन् । जसमध्ये निम्न आय भएका कृषकलाई पहिलो प्राथमिकतामा राखेर बुधबार ३ सय ८ थान किवी टि–वार वितरण गरिएको हो । उहाँका अनुसार फलामको टि–वार प्रति गोटा ढुवानी समेत गरेर २ हजार ५ सयमा गाउँपालिकाले खरिद गरेको हो । किसानले अब १ हजार २ सय ५० रुपैंयामा पाउने छन् । क्रमशः अरू किसानलाई समेत टि–वार वितरण गरिने कृषि शाखा प्रमुख नेपालले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्