छथरमा २४ वर्ष पछि रगरगे मेला हुँदै

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाको सिंधुवा बजार नजिक चण्डी पूर्णिमाको दिन मेला लाग्ने भएको छ । हरेक वर्ष लाग्ने रगरगे मेला देशमा भएको द्धन्द्धकालसँगै लाग्न छाडेको थियो ।
बन्द भएको मेला करिब दुई दशक पछि स्थानीयहरुले पुनः सञ्चालनमा ल्याउन लागेका हुन् । मेला आयोजक समिति छथर जोरपाटी गाउँपालिका वडा नं.६ ले पत्रकार सम्मेलन गरेर मेलासँगै २२ गते खुल्ला महिला/पुरुष दौड र लिम्बू जातिको धान नाच तथा पालाम गीत प्रतियोगिता गरेर मेलाको शुरुवात गर्ने जानकारी दिएको छ ।
जसमा पुरुषका लागि १० किलोमिटर र महिलाका लागि ७ किलोमिटर म्याराथन दौड गराइने आयोजकले जनाएको छ ।
म्याराथनमा पुरुषतर्फ प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः २५ हजार, २ सय २५, २० हजार १ सय १५ र १५ हजार १ सय १५ रुपैँया र महिलातर्फ क्रमशः १५ हजार १ सय १५, १० हजार १ सय १५ र ५ हजार १५ रुपैयाँ नगद पुरस्कार दिइने वडाअध्यक्ष तथा आयोजक समितिका संयोजक दिपक गुरुङ्गले जानकारी दिनुभयो । त्यस्तै धान नाचतर्फ प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः नगद २० हजार १ सय १५, १५ हजार १ सय १५ र १० हजार १ सय १५ रुपैयाँ नगद पुरस्कार पाउने छन् ।
पहिले पहिले मेलामा तेह्रथुम, धनकुटा, सङ्खुवासभा लगायतका स्थानबाट डाँडाकाँडा ढाक्ने गरी सयौँको सङ्ख्यामा धान नाँच्न र पालाम गीत गाउन आउने गरेको ती दिनहरुको सम्झना गर्दै मेलालाई पुनर्जीवित गर्न लागिएको छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र सुब्बाले जानकारी दिनुभयो ।
पुरानो बजार तथा स्थानीय संस्कृतिको संरक्षण गरेर सांस्कृतिक पर्यटन प्रवद्धर्नका गर्न मेलाको आयोजना गर्न लागिएको सुब्बाको भनाइ छ ।








प्रतिक्रिया राख्नुहोस्