तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनीमा उपधारा २ अनुसार सरकार गठन आह्वान

रुपन्देही । लुम्बिनी प्रदेशमा संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार गठनका लागि प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गर्नुभएको छ । सोमबार मुख्यमन्त्री लीला गिरीले विश्वास मत पाउन नसकेपछि प्रदेश प्रमुख शेरचनले पुनः उपधारा २ अनुसार सरकार गठनका लागि आव्हान गर्नुभएको हो ।

गिरीले विश्वासको मत प्राप्त गर्न असफल भएसँगै लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनमा अन्योल देखिएको थियो । एमालेले धारा ३ अनुसार सरकार गठन दाबी गरेको थियो । संविधानको धारा १६८ को उपधारा २ कि ३ मा जाने भन्ने विषयमा अन्योल देखिएपछि प्रदेशका प्रमुख अमिक शेरचनले यसबारे छलफल सुरु गर्नुभएको थियो । शेरचनले नयाँ सरकार गठनका विषयमा महान्यायाधिवक्ताको कार्यालय काठमाडौँमा पत्राचार गरेर लिखित राय लिएर अगाडि बढ्नुभएको हो ।

प्रदेश प्रमुखको कार्यालयद्वारा मङ्गलवार साँझ जारी गरिएको सूचनामा संविधानको धारा १६८ को उपधारा को २ बमोजिम दुईभन्दा बढी दलहरूको समर्थनमा हस्ताक्षर सहितको स्पष्ट बहुमत देखिने आधारसहित प्रस्तुत गर्न प्रदेश सभाको सदस्यलाई मुख्यमन्त्रीमा नियुक्ति गरी सरकार गठनको लागि २०८० साल वैशाख १४ गते बिहीबार ४ बजेभित्र दाबी पेश गर्न आह्वान गरिएको छ ।

योसँगै यसअघि ५३ जना सांसदहरुले मुख्यमन्त्री बनाउन कांग्रेस दलका नेता डिल्ली चौधरीको नाममा हस्ताक्षर बुझाइसकेकाले उहाँ मुख्यमन्त्री बन्ने निश्चित भएको छ । कांग्रेस पहिलो पटक प्रदेश सरकारको नेतृत्वमा जाने भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button