तपाईँ सुन्दै हुनुहुन्छः

विनाशकारी भूकम्पले खाली घरहरू भएको टोल

तस्विरः कालिञ्चोक ४ हिलेपानीको घिमिरे टोल 

दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर–४ लामिडाँडाको हिलेपानीमा एउटा टोल छ ‘घिमिरे टोल’ । उत्तरी बजार सिंगटी छिचोल्ने सडकको दायाँ–बायाँ भूकम्प पछि बनेका दुई तले जस्ताको छाना भएको चिटिक्कको यो टोलको अधिकांश घरहरू भने खाली छन् ।

झण्डै ३६ घरधुरी रहेको घिमिरे टोलको २२ घर खाली रहेको स्थानीय सिता सुवेदीले बताउनु भयो । भूकम्पले क्षतिग्रस्त यो टोलको सबै घरहरू पुर्ननिर्माण भएका छन् तर जम्मा १४ घरमा मात्र मानिसको बसोबास रहने गरेको सिताको भनाई छ । 

खाली घरका अधिकांश छिमेकीको अहिले काठमाडौँ मै स्थायी रुपमा बसोबास रहेको र देवालीमा भने गाँउमा फर्कने गरेको स्थानीयको भनाई छ । कोही– कोही छिमेकी भने दशै– तिहारमा समेत गाउँ फर्कने गरेको स्थानीय बताउँछन् । 

६० को दशकसम्म घिमिरे टोलका अधिकांश घरहरू भरभराऊ नै थिए । केही द्वन्द्वको कारण र केही भूकम्पको कारण विस्थापित बनेपनि अधिकांश भने पानीको पिरलोको कारण विस्थापित बन्नु परेको सिता सुवेदी बताउनु हुन्छ । यो टोलमा पानीको लागि एक बिहान नै माया पारेर हिलेपानी संस्कृत विद्यालय भएको टोलमा जानुपर्छ सिताले भन्नु भयो– त्यही पिरलोले पनि सहरमा (काठमाडौँ तिर) छोराछोरी स्थापित भएपछि परिवारका ज्येष्ठ सदस्यहरुले समेत गाउँ छोडेर जानुभयो । 

घिमिरे टोलमा भूकम्प पछि बनेका दुई कोठे अधिकांश घरमा अहिले ताला लाग्ने गरेका छन् । घर वरपर सिस्नो र विभिन्न झारहरू पलाएर करेसा र आँगन छोपेका छन् । ताला लागेका सुनसान घरहरू देख्दा र पानीको अभाव खेप्नुपर्दा हामीलाई पनि विरक्त लाग्ने गर्छ स्थानीय राजकुमार कार्कीले भन्नु भयो – तर जाऊँ पनि कहाँ ? समस्या खेपेरै भएपनि गाउँमै बस्नुको विकल्पै छैन । 

हिलेपानीको घिमिरे टोलमा विगत देखिनै केही उब्जनी नहुने र पानीको सधैँ समस्या खेप्नुपर्ने भएकैले मानिसहरू बिरक्तिएर बसाई सर्न बाध्य हुने गरेको स्थानीय बताउँछन् । यो टोलमा पानीको अभावका कारण जमिन नै सुख्खा छ, गहत र झुसेतील बाहेक अरू चिज उत्पादन नै हुँदैन – सिता सुवेदीले भन्नु भयो । पिउने पानी र अन्य घर धन्दाको लागि ठूलो पधेरो पुगेर पानी ल्याउँदा एक घण्टै बित्ने सिताको भनाई छ । अन्य कृषि उत्पादनमा मेहेनत गरेपनि युग अनुसार त्यसको आम्दानीले मात्र नपुग्ने भएपछि पनि छिमेकी बसाई सरेर गएको स्थानीय बताउँछन् । 

गाँउमा सडक र बिजुलीको पहुँच पुगेकोले स्थानीय सरकारले पहल गरेर पानीको समस्या समाधान गरिदिने हो भने गाउँबाट बसाई सरेका अधिकांश छिमेकी फेरी गाउँमै फर्कने सिता बताउनु हुन्छ । हामी त एक दिन यो गाउँ फेरी पहिलेकै जस्तो भरिभराउ हुन्छ, सबै छिमेकी फर्कनु हुन्छ भन्ने अपेक्षामै बाँचिरहेका छौ – सिताले भन्नु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button