अनुदानका कार्यक्रम हटाएर शून्य व्याजमा ऋण दिने योजना ल्याउँछौँ : मुख्यमन्त्री शाह

बैतडी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेश सरकारका वितरणमुखी योजनाका रुपमा रहेका अनुदानका कार्यक्रम लाई ऋण कार्यक्रममा परिणत गर्ने बताउनुभएको छ ।
प्रदेश सरकार मातहतका कार्यालयबाट विनियोजन हुने अनुदान कार्यक्रममा कर्मचारीहरूले २० प्रतिशत घुस माग्ने गरेको भन्ने पत्रकारहरूको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री शाहले उक्त कार्यक्रम रोक्ने तयारीमा रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘कृषि र पशुपालनका लागि दिइने अनुदानमा कर्मचारीले २० प्रतिशत घुस माग्ने गरेको सुनिन्छ । त्यस्तो प्रमाण फेला परेमा तत्काल कारबाही त गछौँ, तर अनुदान कार्यक्रम प्रभावकारी नभएको समेत सुनिएकाले यसलाई शून्य प्रतिशत ऋण कार्यक्रम राख्न सकिन्छ, हामी त्यसको लागि छलफल गरिरहेका छौँ ।’
मुख्यमन्त्री शाहले प्रदेश सरकारसँग माग हुने योजनाहरू प्रक्रियागत रुपमा ल्याउन आग्रह गर्नुभयो । उहाँले नेताका खल्तीका योजना भन्ने कुराहरू सुनिएकाले उक्त प्रवृत्ति अन्त्य गर्ने बताउनुभयो । ‘अहिले विभिन्न आयोजना लाई नेताका वा जनप्रतिनिधिका खल्तीका आयोजना भन्ने चलन छ, यो प्रवृत्ति ठिक होइन , व्यक्तिका योजनामा स्थानीय जनप्रतिनिधिको सिफारिस पाउन मुस्किल हुने, भ्रष्टाचार गरेको भन्दै बदनाम हुने स्थिति रहेको छ । त्यसैले स्थानीय तहबाट प्रक्रियागत ढंगले आएका आयोजना मात्रै हामी स्वीकृत गर्नेछौँ ।’उहाँले भन्नुभयो ।
जनप्रतिनिधिले हामी सही छौँ भन्ने सन्देश दिन नसकेको बताउनुभयो । जनप्रतिनिधिहरूले प्रक्रियागत ढंगले सही काम गरेको खण्डमा बदनाम हुनबाट बच्ने बताउनुभयो । प्रदेशका आयोजनाहरूमा स्थानीय जनप्रतिनिधिको सिफारिस नपाउने विषयमा सत्यतथ्य बुझ्न प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीको समेत ध्यानाकर्षण गराउनुभयो । मुख्यमन्त्री शाहले प्रदेश गौरवका सबै आयोजनाहरूमा बजेटको अभाव हुन नदिने दाबी गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्