कर्णालीको विकास सरकारको पहिलो प्राथमिकता हो : उपप्रधानमन्त्री खड्का

सुर्खेत । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली प्रदेशलाई विशेष प्राथमिकता दिएर अहिलेको गठबन्धन सरकार विकास निर्माणमा जुटेको बताउनु भएको छ ।
सुर्खेत विमानस्थलमा आज पत्रकार भेटघाट कार्यक्रममा उपप्रधानमन्त्री खड्काले हरेक दृष्टिकोणबाट पछि परेको कर्णालीको रूपान्तरण गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँगै आफू निरन्तर जुटिरहेको बताउनुभएको हो ।

कर्णालीमा नेपाली सेनाको माध्यमबाट भइरहेका विकासे कामहरूको अनुगमन गरिने जानकारी दिँदै उहाँले देशको अर्थतन्त्र ऋणात्मक परिस्थितिमा पुगेपनि कर्णाली करिडोरको कामलाई निरन्तर अगाडि बढाइने जनाउनुभयो । उहाँले प्रदेशको लाइफलाइनको रुपमा रहेको कर्णाली करिडोरका लागि ४४ अर्बको डीपीआर तयार भएर अर्थ मन्त्रालयमा पठाइएको जानकारी दिनु भयो ।
नेपाली काँग्रेसका उपसभापति समेत रहनु भएका रक्षा तथा कानुनमन्त्री खड्काले सरकारलाई पूर्णता दिन छलफल भइरहेकोले छिट्टै पूर्णता पाउने बित्तिकै नयाँ आउने बजेटमा भेरी कोरिडोर, रत्न राजमार्ग, तेलपानी–भुरीगाँउ जोड्ने सडक, सिँचाई योजनाहरू, जलविद्युत परियोजनाहरूमा विशेष रकम विनियोजन हुने बताउनुभयो ।

भेरी नदी किनारमा बन्न लागेको भेरीगंगा उपत्यका नमूना आधुनिक शहर आयोजनाको कार्यालय उद्घाटन गर्न सुर्खेत आउनु भएका उपप्रधानमन्त्री खड्काले पूर्वी सुर्खेतको भेरीगंगा, लेखबेशी र गुर्भाकोट नगरपालिकाको भूभागलाई जोडेर भेरी नदीको किनारमा व्यवस्थित, वैज्ञानिक र आकर्षक आधुनिक शहर निर्माण योजनालाई मूर्तिरुप दिन अहिले निर्माण पूर्वका कामहरू शुरु गर्न लागिएको जानकारी दिनु भयो ।
कर्णाली प्रदेशको पर्यटकीय, भौतिक विकास, भूगोलअनुसारको रोजगारी सिर्जना गर्ने जस्ता आयोजनालाई पालिकासँगै संघीय सरकारको बजेटसँग जोडेर विकास गरिने उहाँको भनाइ छ । कर्णाली करिडोरको काम अहिले तीव्र गतिका साथ भइरहेकोले अर्को वैशाखसम्म सेनाले हुम्लाको सदरमुकाम सिमिकोटसम्म सडक पुर्याउने जानकारी दिँदै उपप्रधानमन्त्री खड्काले पश्चिम सुर्खेतको विकासका कामहरूमा भइरहेको ढिलासुस्ती प्रति सरोकारवालाहरूको समेत खबरदारी आवश्यक रहेको औँल्याउनुभयो ।









प्रतिक्रिया राख्नुहोस्