तपाईँ सुन्दै हुनुहुन्छः

तुवाँलोका कारण तिन दिनदेखि पोखरामा उडान प्रभावित

पोखरा । बाक्लो तुवाँलोका कारण दुई दिन उडान बन्द रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बाट आज १० वटा उडान भएको छ । शुक्रबार देखि बन्द रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आइतबार दिउँसो साढे २ बज पछि १० ओटा उडान भएर बन्द भएको छ ।

शुक्रबार देखिको बाक्लो तुवाँलोका कारणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान प्रभावित भएको हो । शुक्रबार र शनिबार पोखराका लागि कुनै पनि उडान नभएको बताउँदै विमानस्थल प्रमुख विक्रम गौतमले आज २० वटा उडान रद्द भएको र १० उडान मात्र भएको जानकारी दिनुभयो ।

तुवाँलोका कारण पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित हुँदा यात्रुहरूलाई समस्या भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण गर्न कम्तीमा ३८ सय मिटरको भिजिबिलिटी आवश्यक पर्दछ । उक्त भिजिबिलिटी पर्याप्त हुन नसक्दा उडान बन्द भएको हो ।

दैनिक ६० वटा (दुई तर्फी) उडान हुँदा झन्डै ४२ सय यात्रु पोखरा आउजाउ गर्ने गरेको तथ्याङ्कले देखाउँछ तर हवाई उडान तिन दिनदेखि प्रभावित बन्दा ठुलो आर्थिक नोक्सानी बेहोर्नु परेको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँ, भरतपुर, भैरहवा र नेपालगन्जसम्म नियमित उडान हुने गर्दछ भने अन्य स्थानहरूमा हप्ताको एकदेखि तिन दिनसम्म मात्र उडान हुँदै आएको छ । यहाँबाट बुद्ध, यति, श्री र सौर्य लगायतका एयरलाइन्सले उडान भर्दै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button