तपाईँ सुन्दै हुनुहुन्छः

खक्रौला भन्सारबाट ८ महिनामा ४० प्रतिशत मात्र राजश्व सङ्कलन 

टीकापुर कैलाली । कैलालीको खक्रौला भन्सारबाट चालु आर्थिक वर्षको ८ महिनामा लक्ष्यको ४० प्रतिशत मात्र राजश्व सङ्कलन भएको छ । 

साउनदेखि फागुन महिनासम्म खक्रौला भन्सारले ११ करोड, ४ लाख, २२ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा उक्त अवधिमा ४ करोड, ५१ लाख, ४९ हजार रुपैयाँ मात्र राजश्व सङ्कलन भएको हो ।  

असोज, पुस र फागुन बाहेक अन्य ५ महिनामा लक्ष्यको ५० प्रतिशत पनि राजश्व सङ्कलन भएको देखिँदैन । ८ महिना मध्ये सबैभन्दा बढी असोजमा ८२ प्रतिशत राजश्व सङ्कलन भएको देखिन्छ भने सबैभन्दा कम भदौ र मङ्सिर महिनामा १८÷१८ प्रतिशत मात्र राजश्व सङ्कलन भएको छ । 

पुसमा ५५, फागुनमा ५०, साउनमा ४४, माघमा ३४ र कार्तिकमा २५ प्रतिशत राजश्व सङ्कलन भएको खक्रौला भन्सार कार्यालयले जनाएको छ । 

खक्रौला भन्सारका नायव सुब्बा तुलसीराम चौधरीले भन्सारमा राजश्व नउठ्नुको प्रमुख कारण आर्थिक मन्दी भएको बताउनुभयो। आर्थिक मन्दीका कारण व्यापारीहरूले राम्रोसँग व्यापार गर्न नसक्दा भन्सारबाट सामानहरू नआएकाले भन्सारमा राजश्व कम उठेको उहाँले बताउनुभयो । 

अर्कोतर्फ चोरी पैठारी, भारत तर्फको सडकको पूर्वाधार राम्रो नहुनु र त्यहाँको भन्सारमा इन्टरनेट लगायतका विभिन्न समस्या आउने भएकाले पनि खक्रौला भन्सारमा लक्ष्य अनुसारको राजश्व नउठेको नायव सुब्बा चौधरीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button