सल्यानमा रोकिएन अनधिकृत रुपमा खोलाको दोहन

सल्यान । जिल्लामा पक्की भवन, सिँचाई कुलो, सडक, पुल लगायतका विकास निर्माण तीव्र रुपमा अघि बढिरहेको छ ।
विगतमा धेरै वर्ष लगाएर सम्पन्न हुन नसकेका योजना अहिले तीव्र रुपमा अघि बढिरहेका हुन् । तर विकासको नाममा भने नदी खोला नाला दोहन पनि उत्तिकै मात्रामा भइरहेको छ । विकास निर्माणका नाममा खोलाबाट बालुवा गिट्टी र ढुङ्गा उत्खननले जिल्लाका नदी तथा खोला नाला कुरूप बन्नुका साथै खेतीयोग्य जमिन बाँझो बन्दै भएको छ ।
जिल्लाको शारदा, बबई नदी, बनगाड मर्म, लगायतका जिल्लाका अधिकांश खोलामा उत्खनन हुँदा खेतीयोग्य जमिन बस्तीसमेत जोखिममा पर्न थालेका छन् ।
विगतमा सहजै खेतीसम्म पुग्ने सिँचाई कुलाको मुहान अहिले धेरै अग्लो भइसकेको त्रिवेणी गाउँपालिका–३ धुक्काकी लक्ष्मी बोहराले बताउनुभयो । सडक, घर, कुलो बनाउने भन्दै खोलामा भएको सबै बालुवा गिट्टी निकाल्दा शारदा नदी आज भोलि नहर जस्तै बनेको उहाँको भनाई छ । “पहिले खेतमा कुलो सजिलै जान्थ्यो तर आज भोलि खोला तल छ कुलो माथि भइसक्यो ।”
खोला नजिकै भएपनि खोलाको गहिराई बढ्दै जाँदा खेतमा सिँचाई कुलो नै बन्द हुने अवस्थामा पुगेको अर्का स्थानीय गिर्दल महतराको भनाई छ । कहाँबाट उत्खनन् गर्ने कहाँ नगर्ने भनेर मापदण्ड त होला तर जसलाई जहाँ मन लाग्यो त्यहीबाट उत्खनन् हुँदै आइरहेको छ । उहाँले भन्नुभयो “पहिले शारदा नदीमा पानी धेरै थियो खोलामै डोजर हालेर बालुवा गिट्टी निकाल्न थालेपछि पानी जमिन मुनी पुगेको छ । ठूला ठूला माछा हुन्थे आजभोलि माछादेखि लिएर पानीमा बस्ने केही पनि देख्न पाइँदैन ।”
स्थानीय तहले आर्थिक स्रोत जुटाउने नाममा टेन्डर गरेर बालुवा गिट्टी र ढुङ्गा उत्खनन् गर्ने जिम्मेवारी ठेकेदारलाई दिँदा दोहन झनै बढेको कालीमाटी गाउँपालिका–४ का पुरुषोत्तम भट्टराईले बताउनुभयो ।
विकास निर्माणको नाममा बालुवा गिट्टी उत्खनन् गर्न पाउने व्यवस्था भएपछि शारदा, बबई नदी लगायतका अन्य खहरेखोलामा दोहन बढेको उहाँको भनाई छ । दोहनले खोलाको गहिराई बढ्दा वर्षातको समयमा आउने भेलले खेतबारीमा क्षति पुर्याउनुका साथै नदी वारपार गर्न गाह्रो हुँदै आइरहेको उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्