तपाईँ सुन्दै हुनुहुन्छः

नागरिकता विधेयक प्रमाणीकरण गर्न आवश्यक : नेता खाण

जनकपुरधाम । नेपाली काँग्रेसका नेता बालकृष्ण खाणले नागरिकता समस्याको समाधानका लागि संघीय संसद्ले पास गरेको नागरिकता सम्बन्धि विधेयक प्रमाणीकरण गर्नुपर्ने बताउनुभएको छ  ।

नेपाल प्रेस युनियन धनुषाले आज जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व गृहमन्त्री समेत रहनुभएका नेता खाणले नेपाली नागरिकहरूका लागि बनेको नागरिकता सम्बन्धी विधेयक राष्ट्रपतिसमक्ष  पुगेर स्थगनको अवस्थामा रहेको उल्लेख गर्नुहुँदै अब उक्त विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेर नागरिकता पाउनबाट बञ्चित नेपाली नागरिकलाई नागरिकता उपलब्ध गराउनुपर्ने बताउनुभयो । 

उहाँले अङ्गीकृत नागरिकता प्राप्त नेपालीका छोराछोरीहरूले नागरिकता पाउन नसकेर निक्कै समस्या भोग्नुपरेको उल्लेख गर्नुहुँदै विधेयक प्रमाणीकरण गरेर पीडितको पिडा सम्बोधन गर्न आवश्यक भएको बताउनुभयो ।

नेता खाणले मधेश आन्दोलनको क्रममा झुटा मुद्दा लगाएकाहरूको मुद्दा फिर्ता गर्नुपर्ने उल्लेख गर्नुहुँदै यस सम्बन्धि कानून पूर्ववर्ती सरकारले बनाइसकेकाले अब मुद्दा फिर्ता हुन आवश्यक भएको पनि बताउनुभयो ।  

उहाँले वैशाख १० गते हुन लागेको उपचुनावपछि प्रदेशहरूमा सरकार परिवर्तन हुने उल्लेख गर्नुहुँदै गठबन्धन दलहरूले आलोपालो गरेर सरकारको नेतृत्व गर्ने विषयमा दलहरूका बीचमा सहमति भएको बताउनुभयो । 

संघीय सरकारको पूर्णताको विषयमा गरिएको जिज्ञासामा नेता खाणले चाँडै नेपाली काँग्रेसले पाएको ८ मन्त्रालयहरूमा बाँकी ४ मन्त्रालयमा पार्टीले भौगोलिक अवस्था मिलाएर मन्त्रीहरूको नाम पठाउने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button