तपाईँ सुन्दै हुनुहुन्छः

अछामका दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा विस्तार गरिँदै, स्थानीय लाभान्वित 

अछाम । देश सङ्घीयतामा गएको र स्थानीय तह अधिकार सम्पन्न भए पछि अछामका दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा विस्तार भइरहेको छ । 

वडाको भौगोलिक अवस्था, जनसङ्ख्या र सेवा प्रवाहलाई मध्यनजर गर्दै आधारभूत स्वास्थ्य चौकी स्थापना, प्रसूति गृह सञ्चालन, औजार उपकरण जडान लगायतका काम भइरहेका हुन्। 

हालै जिल्लाको तुर्माखाँद गाउँपालिकाले एक्सरे मेसिन जडान गरि सेवा दिइरहेको छ । पालिकाको वडा नम्बर ४ स्थित स्वास्थ्य चौकीमा मेशिन जडान गरेपछि एक्सरेको लागि जिल्ला सदरमुकाम मङ्गलसेन, कमलबजार तथा सुर्खेत नेपालगन्ज पुग्नुपर्ने बाध्यता हटेको गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिसीले बताउनुभयो । 

सदरमुकाम मङ्गलसेनमै रहेको वडा नम्बर १३ बाँडामा आधारभूत स्वास्थ्य चौकी स्थापना गरि प्रसूति केन्द्र समेत स्थापना गरेपछि हिँडेर ६र७ घण्टामा मङ्गलसेन पुग्नुपर्ने बाध्यता हटेको स्थानीय शिक्षक कर्ण बहादुर धामीको भनाइ छ । औषधि उपचार देखि प्रसूति सेवा गाउँमै पाएपछि स्थानीयलाई छरितो सेवा, समय तथा पैसाको समेत बचत भएको छ । 

अछामको मेल्लेख गाउँपालिकाले आधारभूत अस्पताल नै सञ्चालन गरिसकेको पालिका अध्यक्ष ज्वालासिंह साउँदले बताउनु भयो । एमबिबिएस डक्टर सहित विभिन्न सेवा प्रदान गर्ने गरि आफ्नै भवन निर्माण गरि अस्पताल सञ्चालन भइरहेको अध्यक्ष साउँदको भनाइ छ । 

यता जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ८ बारलाको विकट क्षेत्र बोरागाउँमा प्रसूति गृहको नगर प्रमुख अम्बिका चलाउने द्वारा उद्घाटन गरिएको छ ।

पालिकाका विकट क्षेत्रका गर्भवती आमा तथा बच्चाको स्वास्थ्यलाई ध्यानमा राखेर प्रसूति गृह सञ्चालनमा ल्याइएको नगर प्रमुख चलाउनेले बताउनुभयो । 

वडा अध्यक्ष छत्र बहादुर शाहीका अनुसार त्यहाँमा मानिसलाई स्वास्थ्य सेवा लिन ३र४ घण्टा टाढा जानुपर्ने बाध्यता थियो ।

यो सँगै यसै वडाको अर्को विकट क्षेत्र कोशेडीमा पनि निकट भविष्यमै प्रसूति गृहको स्थापना गरिने नगरको योजना छ ।

प्रसूति गृह उद्घाटन सँगै प्रसूति गृहका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री पनि हस्तान्तरण गरिएको छ । प्रसूति गृह सञ्चालनका लागि १ जना अनमी र १ जना स्विपरको करार दरबन्दी रहेको छ । प्रसूति गृह सञ्चालनमा पछि त्यहाँका स्थानीयलाई सेवा लिन सजिलो भएको नगर पालिकाका स्वास्थ्य संयोजक जनक बुढाले बताउनु भयो । 

नगरको वडा नम्बर ९ कालेकाँडाको विकट क्षेत्र भाटगाउँमा पनि प्रसूति गृहको उद्घाटन गरिने नगरपालिकाका स्वास्थ्य संयोजक  बुढाले बताउनु भयो । 

यता वडा नम्बर ८ कै बारला आधारभूत स्वास्थ्य केन्द्रमा शिशुलाई न्यानो पार्ने मेशिन जडान गरिएको छ । नवजात शिशु केही कारणले सितांग भएमा वा हुन नदिन मेशिन जडान गरिएको स्वास्थ्य केन्द्र इन्चार्ज मणिचन्द्र न्यौपानेले बताउनु भयो । नगरप्रमुख चलाउनेले मेशिन हस्तान्तरण गर्दै सही उपयोग गर्न सुझाव दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button