तपाईँ सुन्दै हुनुहुन्छः

पशुपालनबाट वार्षिक २० लाख आम्दानी गर्दै रविन्द्र

विराटनगर । रोजगारीका लागी युवाहरू विदेश जाने क्रम बढिरहेको अवस्थामा  मोरङको रङ्गेली नगरपालिका–३ रंन्जनीका रविन्द्र ठकुरीले सञ्चालन  गर्दै आउनु भएको पशुपालन व्यवसाय युवाहरूका लागि आदरणीय  बनेको छ । 

अरूको देशमा पसिना बगाएर काम गर्ने भन्दा लगानी र मेहनत गर्नसके स्वदेशमै  राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण उहाँको व्यवसायले दिएको छ । 

युवा व्यवसायी रविन्द्रले आफ्नो ६ विघा जग्गामा भूमि लक्ष्मी कृषि फर्मको नाममा यो व्यवसाय गर्दै आउनु भएको छ ।  रवीन्द्रले आठ वर्ष अघि  ६५ वटा भन्दा बढी  रागां भैँसी तथा गाई  पालन गर्दै   व्यवसाय शुरु गर्नु भएको हो ।

कृषि विकास बैङ्कबाट ५० लाख ऋण तथा  व्यक्तिगत ३० लाख गरि करिब ८० लाखको  लगानीमा  व्यवसाय शुरु गर्नु भएका रवीन्द्रले यो व्यवसायबाट अहिले  वार्षिक २० लाख रुपैयाँ आम्दानी गर्दै आउनु भएको छ । 

फर्ममा उत्पादित पशुचौपाया तथा  दुग्ध विक्री गरेर राम्रो आम्दानी हुने गरेको र व्यवसाय शुरु गरेपछि जीवन यापन सहज भएको उहाँको भनाई छ । फर्ममा अहिले पशु चौपाया केही कम भएको भन्नुहुँदै यो महिना भित्रमा फेरी पशुचौपाया थप्न लागेको उहाँले सुनाउनुभयो ।

 तीन विघा जग्गामा फर्म तथा तीन विघा जग्गामा उहाँले घाँस खेती गर्दै आउनु भएको छ ।  त्यहाँ उत्पादन भएका पशु चौपाया खरिद गर्न टाढा टाढाका  किसानहरू उहाँको फर्म पुग्ने गर्दछन् ।

कृषिमा सरकारले अनुदान दिने भएपनि  ठुलो  लगानी गरेर फर्म सञ्चालन गर्दा पनि कहीँ कतैबाट भने आफूले पाउन नसकेको उहाँको गुनासो छ ।  अनुदान पाए  फर्मलाई अझ विस्तार गर्दै जाने उहाँको साेंच छ । 

घर परिवार छाडेर अरूको देशमा काम गर्ने भन्दा पनि   मेहनत गर्दा स्वदेशमै केही गर्न सकिन्छ भन्ने अनुभव यो व्यवसायबाट आफूले पाएको उहाँको भनाई छ ।

 ‘यो व्यवसायमा  लगानी गरेको रकमले म जुनसुकै देश जान सक्ने अवस्था थियो तर  स्वदेशको मायाले आफ्नै देशमा केही गराै‌ भन्ने साेंच आएर  यो व्यवसाय सुरु गरेको हुँ’, रवीन्द्रले भन्नुभयो ।  

 युवालाई स्वदेशमै रोजगारीको  वातावरण बनाउन  कृषिमा दिँदै आएको अनुदान सही ठाउँमा प्रयोग हुनुपर्ने  उहाँको भनाई छ ।

 पहुँच र जानकारी नहुँदा ग्रामीण क्षेत्रमा सञ्चालन हुँदै आएको पशुपालन व्यवसायीले  अनुदान पाउन नसकेको उहाँको भनाई छ । कृषिमा आधारित व्यवसायलाई प्रोत्साहित गर्न  संघ,प्रदेश र स्थानीय सरकारकारले सही किसानलाई  चिनेर अनुदान दिनुपर्ने  उहाँको भनाई छ । 

रबिन्द्रकै सिको गर्दै रंगेलीमा अन्य किसानले समेत गाईपालन , वाख्रापालन तथा कुखुरा पालन व्यवसाय शुरु गरिरहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button