अटोमोबाइलको साहसिक खेल प्रवर्द्धन गर्न चितवनमा ‘जिमखाना च्याम्पियनसिप’

चितवन । चितवनमा नेपाल अटो जिमखाना च्याम्पियनसिप हुने भएको छ । अटोमोबाईल्स तथा यसको खेल प्रवर्द्धन तथा स्थापित गर्ने उद्देश्य सहित उक्त खेल प्रतियोगिता हुने भएको हो ।नेपाल अटोमोबाईल्संघ (नासा) बागमती प्रदेश र चितवन अटोमोबाईल्स डिलर्स एसोसिएसन (काडा) ले संयुक्त रुपमा पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो ।
चितवनमै पहिलोपटक आउँदो वैशाख ३० गते उक्त च्याम्पियनसिप हुन लागेको आयोजक संस्था नासा र काडाले जानकारी दिएको छ । अटोमोबाइल क्षेत्रमा साहसिक खेल प्रदर्शन र प्रवर्द्धन गर्ने उद्देश्य सहित जिमखाना च्याम्पियनसिपको आयोजना गर्न लागिएको नासा तथा काडाका अध्यक्ष राजन पियाले बताउनुभयो ।
‘यस्ता खेलहरू विदेशमा प्राथमिकता राखेर खेल्ने र खेलाइने गरेका हुन्छन्, पियाले भन्नुभयो , नेपालमा पनि यस्ता खेलले अटोमोबाईल्स क्षेत्रको प्रवर्द्धन हुनेछ भन्ने अपेक्षा गरेका छौँ ।’
पियाका अनुसार देशभरबाट च्याम्पियनसिप खेल्ने ड्राइभरहरू (खेलाडी)लाई अनलाइन मार्फत आवेदन भर्न सक्ने र सोही भित्रबाट १६ जना देखि २५ जना ड्राइभर छनौट गरिने छ । मोटर रेसिंगको सर्ट सर्किट विधा अन्तर्गत अटो जिमखाना खेल छोटो साँगुरो अस्थायी सर्किट डिजाइन गरी कलात्मक तरीकाले तयार गरिन्छ । जहाँ ड्राइभरहरूले आफ्नो कला , साहस र सृजना प्रदर्शन गर्नेछन् । उक्त प्रतियोगितामा ड्राइभर, मार्शल, प्राविधिक गरी ८० जनाको सहभागिता रहने पियाले जानकारी दिनुभयो । यस प्रतियोगितामा भाग लिन नासाको अनुमति पत्र लिएको ड्राइभर हुनुपर्नेछ ।
विदेशमा जस्तै अटोमोबाइल्स खेलका पारखीहरूलाई साहसिक खेलमा सहभागी गराउन र यस्ता खेललाई प्रवर्द्धन गर्न चितवनमा पहिलोपटक यो प्रतियोगिताको आयोजना गरिएको फेडेरेसन अफ ईन्टरनेशनल अटोमोबाईल (एफआईए)का वर्ल्ड काउन्सिल सदस्य गोविन्द भट्टराईले जानकारी दिनुभयो । ‘अटोमोबाइल्सबाट पनि साहसिक खेल नेपालमा पनि हुन्छ भन्ने जानकारी दिन र सेफ्टी ड्राईभिङ्गको लागि अभ्यास दिन यो प्रतियोगिता गर्न लागिएको हो ।’ भट्टराईले भन्नुभयो ।
प्रतियोगितामा हरेक आवेदकले तीन हजार रुपैंया दर्ता शुल्क बुझाउनु पर्नेछ र आफ्नै चार चक्के १२०० सिसी देखि २००० सिसी सम्मका सवारी उपलब्ध गर्नुपर्नेछ । विजेताले क्रमशः २७ हजार रुपैंयांँ ९ हजार र ३ हजार नगद सहित शिल्ड र प्रमाणपत्र पाउनेछन् ।
एफआईएको सहकार्यमा हुन लागेको प्रतियोगितामा १४ लाख ३० हजार खर्च अनुमान गरिएको छ र खर्च आवेदकको शुल्कबाट व्यवस्थापन गरिने बताइएको छ ।
जिल्ला बाहिरका प्रतियोगीको लागि आवास, लञ्चको निःशुल्क व्यवस्थापन गरिने प्रतियोगिताको अघिल्लो दिन सामूहिक बिमा, रेसिङ्ग तथा रोड सेफ्टी सम्बन्धी अभिमुखीकरण गरिने नासाका महासचिव सुशील तण्डुकारले बताउनुभयो । प्रतियोगितामा हुने जोखिमलाई मध्यनजर गरी स्वास्थ्यकर्मी सहित एम्बुलेन्सको व्यवस्था गरिने आयोजकले जानकारी दिएको छ ।






प्रतिक्रिया राख्नुहोस्