थ्री स्टारद्वारा आर्मी क्लब पराजित
काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराएको छ ।
च्यासल मैदानमा बिहीबार भएको खेलमा थ्री स्टारले आर्मीलाई १–० गोल अन्तरले हराएको हो । थ्री स्टारको जितमा अजयी मार्टिन्सले निर्णायक गोल गरे । थ्री स्टारको यो तेस्रो जित हो । थ्री स्टारले ६ खेलमा १० अङ्क जोडेको छ ।
थ्री स्टार छैटौँ स्थानमा रहेको छ । आर्मीले ६ खेलमा ८ अङ्क जोडेको छ । आर्मी आठौँ स्थानमा रहेको छ ।
अर्को खेलमा हिमालयन शेर्पा क्लब र साविक विजेता मच्छिन्द्र फुटबल क्लबले बराबरी खेल्दै अङ्क बाडेका छन् ।
एन्फा कम्प्लेक्समा भएको खेलमा हिमालयन र मछिन्द्रले १–१ गोलको बराबरी खेलेका छन् । खेलको इन्जुरी समयमा विमल घर्ती मगरले गोल गरेपछि मच्छिन्द्र हारबाट जोगिएको हो । त्यसअघि सत्यम शर्माले गोल गर्दै हिमालयनलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ८६ औँ मिनेटमा सत्यमले पेनाल्टीमार्फत गोल गरेका हुन् ।
मछिन्द्रका डिफेन्डर छिरिङ गुरुङले ह्यान्डबल गरेपछि हिमालयनले पेनाल्टीको अवसर पाएको थियो । जसमा सत्यमले सहजै गोल गरे । यस बराबरीसँगै हिमालयनले ६ खेलमा ६ अङ्क जोडेको छ । हिमालयन नवौं स्थानमा छ । मछिन्द्रले ६ खेलमा ६ अङ्क जोडेको छ । मच्छिन्द्र दशौँ स्थानमा रहेको छ ।






प्रतिक्रिया राख्नुहोस्