‘सतार’ को साटो ‘सन्थाल’ लेख्ने झापाका उपप्रमुखहरूको निर्णय
झापा । झापाका पन्ध्र वटै स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरूको बैठकले आदिवासी सन्थाल समुदायलाई होच्याउने अपमानजनक ‘सतार’ शब्द अबदेखि कुनै पनि कागजातमा नलेख्ने निर्णय गरेको छ ।

मेचीनगर नगरपालिकाको सभाहलमा आज झापाका उपप्रमुख तथा उपाध्यक्षहरूको जिल्ला समन्वय समितिको संयुक्त बैठकले सो निर्णय गरेको हो ।
सीमान्तकृत तथा आदिवासी सन्थाल समुदायको पहिचान र आत्मसम्मानको कदर गर्दै यसअघि लेखिँदै आएको ‘सतार’ शब्दको साटो ‘सन्थाल’ शब्द प्रयोग गर्ने निर्णय गरिएको मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले बताउनुभयो ।
झापामा सघन बसोबास गर्दै आएका सन्थाल समुदायले सतार शब्दको प्रयोग नगरिदिन आग्रह गर्दै सडक आन्दोलनसमेत सञ्चालन गर्दै आएका छन् ।
सन्थाल समुदायले नेपाली शब्दकोश, पाठ्यपुस्तक, सरकारी कामकाज र सञ्चार माध्यममा कतै पनि आत्मसम्मानमा ठेस पुग्ने ‘सतार’ शब्द प्रयोग नगरिदिन आग्रह गर्दै आएको थियो । बैठकले ‘सतार’ शब्दको सट्टा ‘सन्थाल’ शब्द प्रयोग गर्ने र उनीहरूको नामको पछाडि सम्बन्धित थर नै उल्लेख गर्ने निर्णय गरेको उपप्रमुख उप्रेतीले जानकारी दिनुभयो ।
सन्थाल समुदायको हरेक प्रमाणपत्र तथा दस्ताबेजमा नामको पछाडि वास्तविक थरहरू उल्लेख गर्न पालिकाका उपप्रमुख तथा उपाध्यक्षहरू सहमत हुनुभएको छ । सन्थाल समुदायका हस्दा, मुर्मु, टुडु, सोरेन लगायत १२ वटा थर हुन्छन् ।






प्रतिक्रिया राख्नुहोस्