तपाईँ सुन्दै हुनुहुन्छः

वन्यजन्तु आतङ्कबाट किसानलाई अन्नबाली जोगाउन मुस्किल

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको विभिन्न भेगका किसानहरूले वन्यजन्तुका आतङ्कका कारण आफ्नो अन्नबाली जोगाउनै मुस्किल परेको बताएका छन् ।

खेतबारीमा लगाएको अन्नबालीमा बाँदर, बँदेल, दुम्सी जस्ता वन्यजन्तुले क्षति पुर्‍याउँदै आएको छ । पनौती नगरपालिकाको वडा नम्बर ५ अन्तर्गत सुब्बा गाउँमा केही दिनदेखि आलु खेतीमा बँदेलले नोक्सानी पुर्‍याइरहेको किसानहरूले बताएका छन् ।

एकै रातमा झण्डै २/३ रोपनी आलु बालीमा बँदेलले क्षति गरेको किसानहरूको भनाई छ । अहिले काभ्रेपलाञ्चोक जिल्लाको धेरैजसो खेतमा आलुको सिजन छ । मलको अभावका बीच लगाएको बाली भित्र्याउने बेलामा वन्यजन्तुले सखाप परिदिँदा किसान मर्कामा परेका छन् ।

डिभिजन वन कार्यालय काभ्रेपलाञ्चोक जिल्ला प्रमुख देवी चन्द्र पोखरेलका अनुसार बालीमा वन्यजन्तुले क्षति पुर्‍याएको भन्दै क्षतिपूर्तिको माग गर्ने किसानको सङ्ख्या बढ्दो छ । काभ्रेपलाञ्चोक जिल्लाका किसानले विगत ३ वर्षदेखि वन्यजन्तुले क्षति पुर्‍याएको बालीको क्षतिपूर्ति पाउँदै आएका छन् ।

डिभिजन वन कार्यालय प्रमुखको अध्यक्षतामा रहेको समितिले किसानबाट प्राप्त भएको प्रमाण सहितको निवेदन शिवपुरी राष्ट्रिय निकुञ्जमा पठाउने गरेको छ । क्षति हेरेर निकुञ्जले किसानको बैङ्क खातामै रकम पठाउँदै आएको डिभिजन वन कार्यालय प्रमुख पोखरेलले बताउनुभयो ।

सरकारले वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका नै जारी गरेको छ । निर्देशिका अनुसार वन्यजन्तुले मानिसलाई सामान्य, सख्त घाइते बनाए वा मृत्यु नै भए राहत दिने व्यवस्था गरेको छ ।

त्यस्तै, पशुधनको क्षति, भण्डारण गरेको अन्नको क्षति, घर कोठाको क्षति, खाद्यान्न बालीको क्षति भएपनि राहत पाइने उल्लेख छ । जङ्गली बँदेल, अर्ना, हात्ती, गैँडाले खाद्यान्न बाली क्षति गरे राहत पाइनेछ ।

खाद्यान्न बाली क्षतिको क्षेत्रफल र प्रकृति हेरेर बढीमा १० हजार रुपैंयासम्म राहत दिन सकिने निर्देशिकामा भनिएको छ । वन्यजन्तुले घर गोठ क्षति गरेमा र भकारीमा भण्डारण गरिएको अन्नमा क्षति गरेमा पनि १० हजार रुपैयाँसम्म राहत पाइने उल्लेख छ ।

वन्यजन्तुले क्षतिको गरेको बालीको राहत लिनका लागि बाली नष्ट गरेको जग्गाको लालपुर्जाको प्रतिलिपि, नागरिकताको प्रतिलिपि, प्रहरी मुचुल्का (सरजमिन), आफु सदस्य रहेको सामुदायिक वनको सिफारिस, वडा कार्यालयको सिफारिस, नगरपालिका वा गाउँपालिकाको कृषि शाखाबाट क्षति मूल्याङ्कन सहितको सिफारिस, बाली नष्ट गरेको स्थानको तस्बिर, आफ्नो नाममा जग्गा नभएमा नाता प्रमाणितको प्रतिलिपि, बैङ्क खाता नम्बर उल्लेख भएको चेकको प्रतिलिपि सहित डिभिजन वन कार्यालयमा निवेदन दिनुपर्ने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button