तपाईँ सुन्दै हुनुहुन्छः

पहिला विमानस्थल पुग्ने सडक मर्मत गर्नुस् : मन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले लैनचौर–बालाजु–त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको सडक पहिला मर्मत गर्न निर्देशन दिनुभएको छ । काठमाडौं उपत्यका भित्रका सडकहरू गुणस्तरीय हुनुपर्नेमा जोड दिँदै उहाँले विशेष योजना बनाएर सडकहरूको स्तर उन्नति गर्न निर्देशन दिनुभएको हो ।

सडकसँग सम्बन्धित निकायहरूको उच्चस्तरीय समन्वयात्मक बैठकमा मन्त्री श्रेष्ठले भन्नुभयो, ‘विशेषत लैनचौरदेखि बालाजुसम्म र केशर महल हुँदै एपोर्टसम्मको सडक स्तरोन्नतिका लागि तत्काल ठोस योजना बनाउनुपर्‍यो ।’ उहाँले काठमाडौं उपत्यकाका सडकको अवस्थाबारे जानकारी लिँदै समस्या देखिएका ठाउँमा प्रभावकारी योजना बनाउन निर्देशन दिनुभएको हो ।

उहाँले भन्नुभयो, ‘जनताले कर तिरेका छन् । तर सरकारले राम्रो सडकसमेत उपलब्ध गराउन सकेको छैन । सडकका कारण जनताले सधैँ दुःख पाउने स्थितिबाट हामीमाथि उठ्नुपर्छ ।’ सम्बन्धित निकायबीचको समन्वय गरेर गरेर गुणस्तरीय सडक बन्नुपर्नेमा उहाँको जोड थियो ।

नयाँ सडकमा अनिवार्य रूपमा नयाँ ढङ्गले जाने गरी समझदारी गर्नुपर्नेमा जोड दिँदै मन्त्री श्रेष्ठले भन्नुभयो, ‘नयाँ बनेका सडकमा अनिर्वायरूपमा एकैपटक एउटा मोडालिटी विकास गरेर काम गर्नपर्छ, सम्बन्धित निकायबीच समझदारी गर्नुहोस् ।’

उहाँले बनिसकेका ठाउँमा यथावत् समस्या तत्काल हल गर्न प्रभावकारी योजना बनाउनुपर्ने बताउनुभयो । सडक मर्मत सम्भार, विस्तार र निर्माणमा सधँैजसो दोहोरिने समस्या हल गर्नका लागि ‘युटीलिटि करिडोर’ को अवधारणाबारे मन्त्रालय र प्रधानमन्त्रीसँग समेत छलफल भएको मन्त्री श्रेष्ठले जानकारी दिनुभयो । उहाँले सडक निर्माणको जिम्मेवारी पाएकालाई आवश्यकताअनुसार सहयोग गर्न र समयमा काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कारबाही अघि बढाउनसमेत निर्देशन दिनुभयो । बैठकमा सडकसँग सम्बन्धित विभिन्न आठ निकायका प्रतिनिधिको सहभागिता थियो ।

बैठकमा सडक विभागअन्तर्गतका राष्ट्रिय राजमार्ग एवं सहरी तथा सहायक राजमार्ग सडक, नेपाल विद्युत् प्राधिकरणले स्वीकृति पाएको १५ वटा सडक र आयोजना कार्यान्वयन निर्देशनालयले स्वीकृति पाएको १८ वटा सडकको अवस्थाबारे छलफल गरिएको थियो ।

सो अवसरमा मन्त्रालयका सचिव केशवकुमार शर्माले सडकको दुरअवस्थाले सर्वसाधारणलाई सास्ती पुर्‍याएको बताउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, ‘समयमा सडक मर्मत नहुँदा राष्ट्रिय बेइज्जत भइसक्यो । सबै निकायले समन्वय बढाउन आवश्यक छ । दोषारोपण र दोहोरोपनमा समय खर्चनु हुँदैन ।’

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले समयमा काम सम्पन्न गर्न नसकेको स्वीकार गर्दै भूमिगत तार व्यवस्थापनको जटिलता बुझ्न आग्रह समेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘निर्माण व्यवसायीहरूले विभिन्न बहानामा काम गर्न नसकेको कारण देखाइरहेका छन् । प्राधिकरणले कतिपय ठाउँमा समयमा काम सम्पन्न गर्न सकेको छैन । तर भूमिगत तार व्यवस्थापनका प्राविधिक जटिलताहरू धेरै छन् ।’ उहाँले सडक निर्माणको कामलाई द्रुतगतिमा सम्पन्न गर्न प्राधिकरण सधैँ तयार रहेको बताउनुभयो ।

आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक राजेन्द्र सापकोटाले पनि समन्वय बढाएर काम सम्पन्न गर्न तयार रहेको बताउनुभयो । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका उपमहाप्रबन्धक डिपी चापागाईँले विद्यमान रणनीति परिवर्तन गरेर निर्माण कार्यलाई अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो ।

सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले काठमाडौँ उपत्यकाभित्र मुख्य र अन्य सडकमा काठमाडौं उपत्यका खानेपानी लिमिटेडका कारण धेरै समस्या देखिएको जनाएको थियो । अनुगमन कार्यालयका अनुसार पानीको ‘लिकेज’का कारण समयमा सडक मर्मतसम्भार गर्न समस्या र मर्मत गरिएका सडकमा समेत बारम्बार समस्या दोहोरिने गरेको छ ।

अनुगमन कार्यालयका अनुसार आयोजना कार्यान्वयन निर्देशनालयले बिना स्वीकृति सडक खन्ने र पाइपलाइन सम्बन्धी काम समयमा सम्पन्न नगर्ने गरेको पाइएको हो । यस्तै विद्युत् प्राधिकरणले तार व्यवस्थापन नगर्दा सड्क क्षति र दुर्घटनाको जोखिम बढाएको समस्याबारे छलफल भएको थियो ।

बैठकमा सम्बन्धित सबै निकायले समयमा काम सम्पन्न गर्न नसक्नुका कारणबारे समेत छलफल भएको थियो । बैठकले सम्बन्धित निकायबीच समन्वय बढाउने र समझदारीमा नयाँ बनेका सडकका लागि मोडालिटी तयार गर्ने निर्णय गरेको छ ।

लैनचौर–महाराजगञ्ज तथा लैनचौर–सोह्रखुट्टे –बालाजु चोक सडक आवधिक मर्मत गर्न कठिनाइबारे विश्व बैङ्क, मन्त्रालय र विभागसँग छलफल गर्ने निर्णय गरिएको छ । यस्तै, काठमाडौं उपत्यकाका सबै सडकको एकीकृत तथ्याङ्क प्रणाली तयार गर्ने र बल्खु तरकारी बजारको सडक कालोपत्रे गर्नेसम्बन्धी बजार व्यवसायी समितिलाई पत्राचार गर्ने लगायतका निर्णय भएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button