आईसिपी भन्सार वीरगंजद्वारा ८ महिनामा १ खर्ब १ अर्ब ५३ करोड राजस्व असुली

बीरगंज । देशकै प्रमुख भन्सार नाकाको रुपमा रहेको एकिकृत भन्सार जाँच चौकी आईसिपी बीरगंजले चालु आर्थिक बर्ष २०७९/०८० को ८ महिनामा १ खर्ब १ अर्ब ५३ करोड ८० लाख ७६ हजार रुपैयाँ राजस्व असुली गरेको छ ।
अर्थ मन्त्रालय भन्सार विभागले आईसिपी भन्सारलाई ८ महिनाको अवधिमा १ खर्ब ६८ अर्ब २३ करोड ८६ लाख ८५ हजार राजस्व उठाउने लक्ष्य तोकेको भए पनि आयात निर्यात व्यापार प्रभावित भएसँगै बीरगंज भन्सारको राजस्व असुलीमा गिरावट आएको प्रमुख भन्सार प्रशासक राजेन्द्र प्रसाद चुडालले जानकारी दिनुभयो ।
बीरगंज भन्सार कार्यालयले ८ महिनामा तोकिएको लक्ष्य भन्दा झण्डै ३९ दशमलव ६० प्रतिशत कम राजस्व असुली भएको छ ।
तुलनात्मक रुपमा हेर्दा लक्ष्य भन्दा ६६ अर्ब ७० करोड ६ लाख ९ हजार कम राजस्व असुली भएको र यसको प्रभाव मुलुकको अर्थतन्त्रमा पर्ने हुँदा अर्थविद्हरू चिन्तित भएका छन् ।
चालु आर्थिक वर्षको ८ महिनामा बीरगंज नाकाबाट हुने माल वस्तुको आयात निर्यात घट्नुको साथै भन्सारमा लामो समयदेखि नयाँ सवारी साधनको जाँचपास हुन नसकेर थन्किनु तथा सवारी साधन नभित्रिएको कारण राजस्व असुली प्रभावित भएको बीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र प्रसाद चुडालले बताउनुभयो ।
बीरगंज भन्सार कार्यालयको यार्डमा अहिले झण्डै ९ अर्ब रुपैयाँ बराबरको गाडी थन्किएर बसेका छन् ।
त्यसैगरी सरकारले ड्राइ फुड, प्लाष्टिक जन्य खेलौना आदि माल वस्तुको आयातमा लगाएको प्रतिबन्धले पनि राजस्व असुली कम भएको प्रमुख भन्सार अधिकृत चुडालले बताउनुभयो ।
यसैगरी, वीरगन्ज भन्सार कार्यालयले भन्सार राजस्वतर्फ ३५ अर्ब ७१ करोड ५१ लाख २० हजार राजस्व असुली गरेको छ भने मूल्य अभिवृद्धि करतर्फ ४५ अर्ब ८९ करोड १६ लाख २८ हजार राजस्व असुली भएको छ ।
त्यसैगरी, अन्त शुल्कतर्फ ६ अर्ब ८१ करोड ३ लाख ८८ हजार असुली गरेको चुडालले बताउनुभयो ।
त्यसैगरी बीरगंज भन्सार कार्यालयले पूर्वाधार करतर्फ ८ अर्ब ५८ करोड ५१ लाख ९२ हजार राजस्व उठाएको छ भने कृषि सुधार शुल्कतर्फ १ अर्ब १० करोड ४३ लाख ९४ हजार असुली गरेको छ ।
यसैगरी, वीरगन्ज भन्सार कार्यालयले सडक मर्मत तथा सुधार दस्तुरतर्फ २ अर्ब २२ करोड ५५ लाख ९३ हजार राजस्व असुली गरेको छ भने सडक निर्माण तथा सम्भार दस्तुरमा ९५ करोड ११ लाख ६२ हजार राजस्व असुल गरेको बीरगंज भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
आईसिपी भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७८/७९ को ८ महिनामा १ खर्ब ३८ अर्ब ९४ करोड ९४ लाख ५७ हजार रुपैयाँ राजस्व असुली गरी लक्ष्यभन्दा झण्डै ४ अर्ब ७८ करोड ८६ लाख ९५ हजारभन्दा बढी राजस्व सङ्कलन गरेको थियो ।







प्रतिक्रिया राख्नुहोस्