तपाईँ सुन्दै हुनुहुन्छः

याङ्ग्री लार्के बाढीबाट प्रभावित ११ परिवारलाई स्थायी आवास निर्माणका लागि जग्गा सम्झौता

सिन्धुपाल्चोक । याङ्ग्री लार्के बाढीबाट प्रभावित ११ घर परिवारलाई स्थायी आवास निर्माणका लागि जग्गा खरिद गरि सम्झौता गरिएको छ ।

पाँचपोखरी थाङ्पाल गाउँपालिकाको उत्तरी भेग याङ्ग्री लार्के खोलामा २०७८ असार १ गते आएको बाढीबाट प्रभावित भई मनसुनजन्य विपद् प्रभावित निजी आवास पुन निर्माण तथा पुरस्थापना अनुदान कार्यविधि, २०७७ बमोजिम याङ्ग्री दलित बस्तीका ११ घर परिवारलाई स्थायी आवास निर्माणका लागि जग्गा खरिद गरि सम्झौता गरिएको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो । 

उक्त बाढीबाट प्रभावित १ सय ७९ घरधुरी लाभग्राही कायम भएका छन् । यी मध्ये १३ घर पुनर्निर्माण र बाँकीलाई पुनः स्थापना गर्नुपर्ने गाउँपालिकाका विपद् फोकलपर्सन तथा सूचना प्रविधि अधिकृत नारायण बञ्जरा क्षेत्रीले जानकारी दिनुभयो । 

अहिलेसम्म २२ जनाको जग्गा खरिद भएको र  ५ जनाले घर निमार्ण सम्पन्न गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि पौडेलले जानकारी दिनुभयो । 

बाढीबाट प्रभावितलाई आवास निमार्णका लागि पाँच लाख तथा जग्गा नहुनेलाई थप तिन लाख सरकारले दिने बताएको छ । यसमा गाउँपालिकाले १० र नगरले १५ प्रतिशत  साझेदारी गर्नुपर्ने छ ।

२०७८ असार १ र त्यसपछिको बाढीले हेलम्बु, मेलम्ची र पाँचपोखरीमा गरी बाढीले ५ सय ५१ घर बगाएको थियो । उक्त बाढीबाट पाँच हजार ४०० रोपनी खेतीयोग्य जमिन बगर बन्यो । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनासँगै सात झोलुङ्गे पुल, नौ पक्की पुल र ३३ सार्वजनिक संरचना ध्वस्त भए भने बाढीले २६ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button