तपाईँ सुन्दै हुनुहुन्छः

स्ववियु निर्वाचन : भोजपुर क्याम्पसमा छात्रा मतदाता बढी, करिब ७७ प्रतिशत मतदान

भोजपुर । भोजपुर सदरमुकाममा रहेको भोजपुर बहुमुखी क्याम्पसमा भएको स्ववियु निर्वाचनमा छात्र मतदाताको अनुपातमा छात्रा मतदाता बढी देखिएको छ । 

४ः०० बजे सकिएको मतदान प्रक्रियामा करिब ७७ प्रतिशत मतदान भएको छ । 

भोजपुर क्याम्पसमा कुल मतदाता छ सय ६५ जना रहेकोमा पाँच सय सात मत खसेको भोजपुर बहुमुखी क्याम्पस स्ववियु निर्वाचन समितिका निर्वाचन अधिकृत सुशील लामिछानेले जानकारी दिनुभयो । जसमा तीन सय ६८ जना छात्राले मतदान गरेका छन् भने एक सय ३९ जना छात्र मात्र मतदानमा सहभागी भएको देखिएको छ । 

निर्वाचन कार्यक्रम तोकिएको समयमा नै सम्पन्न भएको बताउँदै निर्वाचन अधिकृत लामिछानेले सर्वपक्षीय बैठक बसेर मत गणनाका विषयमा छलफल गरिने बताउनुभयो ।   

भोजपुर बहुमुखी क्याम्पसमा नेकपा एमाले निकटको अनेरास्ववियु र जनता समाजवादी पार्टीको समाजवादी विद्यार्थी युनियनका बीचमा गठबन्धन छ । सो प्यानलबाट अध्यक्षमा निशान राई सहितको टिम छ भने अर्कोतर्फ नेपाली काँग्रेसको नेपाल विद्यार्थी संघ, माओवादी केन्द्रको अखिल (क्रान्तिकारी) र एकीकृत समाजवादीको अनेरास्ववियुको संयुक्त प्यानलबाट अध्यक्षमा सञ्जय ढकालसहितको प्यानल छ । 

विगतमा प्रत्यक्षतर्फ मात्र निर्वाचन हुने भएता पनि अहिले समानुपातिकतर्फ पनि उम्मेदवार उठ्ने व्यवस्था छ । यता जिल्लाको उत्तर षडानन्द नगरपालिकामा रहेको षडानन्द बहुमुखी क्याम्पसमा पनि निर्वाचन सकिएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button