तपाईँ सुन्दै हुनुहुन्छः

बुढानीलकण्ठमा सीप सम्मेलन तथा कृषि मेला सुरु

काठमाडौँ । बुढानीलकण्ठमा दुई दिने सीप सम्मेलन तथा कृषि मेला–२०७९ सुरु भएको छ । स्थानीय उत्पादनलाई प्रदर्शन तथा प्रवर्द्धन गर्न नगरपालिकाले उक्त कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा नगर प्रमुख मिठाराम अधिकारीले स्थानीय उत्पादन र घरेलु व्यवसायलाई बजारीकरण गर्न सीप सम्मेलन तथा कृषि मेला आयोजना गरिएको बताउनुभयो । सीप सम्मेलनले आगामी दिनमा व्यवसायलाई थप उत्प्रेरणा हुने विश्वास व्यक्त गर्दै यस्ता कार्यक्रमलाई आगामी दिनमा नगरपालिकाले निरन्तरता दिने उहाँको भनाइ छ ।

नगर उपप्रमुख अनिता लामाले नगरपालिकाभित्रका स्थानीय तथा घरेलु उत्पादन बजारीकरण गर्दै राष्ट्रिय अर्थतन्त्रमा जोड्न सीप सम्मेलन तथा कृषि मेला गरिएको बताउनुभएको छ । बूढानीलकण्ठ नगरपालिका कृषि उत्पादन तथा घरेलु व्यवसायमार्फत स्वरोजगार विकास गर्न सम्मेलन आयोजना गरिएको उहाँको भनाइ छ ।

दुई दिनसम्म सञ्चालन हुने मेलामा ७१ स्टल राखिएको छ । स्थानीयवासीले हातबाट बुनेका सामान, काठबाट बनाइएका, गाँजा र अल्लोबाट बनाइएका कपडा, जैविक खाने परिकार, विषादीरहित तरकारी लगायत सामान प्रदर्शनमा राखिएको छ । बूढानीलकण्ठ नगरपालिकाको आयोजनामा सुरु भएको सीप सम्मेलन तथा कृषि मेला दुई दिनसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button