तपाईँ सुन्दै हुनुहुन्छः

पाँचपोखरी टी–२० क्रिकेट प्रतियोगिताको उपाधि ह्योल्मो ११ हेलम्बुलाई

सिन्धुपाल्चोक । पाँचपोखरी थाङ्पाल गाउँपालिका खेलकुद विकास समितिको आयोजना तथा पाँचपोखरी क्रिकेट क्लबको व्यवस्थापनमा सञ्चालित प्रतियोगिताको उपाधि ह्योल्मो ११ हेलम्बुले जितेको छ ।

काठमाडौँको मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा शुक्रबार भएको प्रतियोगिताको फाइनल खेलमा पाँचपोखरी क्रिकेट क्लबलाई दुई रनले पराजित गर्दै हेलम्बुले उपाधि उचालेको हो । टस जितेर ब्याटिङ गरेको ह्योल्मो ११ ले विवेक तामाङको नटआउट ८३ रनको मद्दतमा निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७८ रनको चुनौतीपूर्ण लक्ष्य खडा गरेको थियो । १७९ रनको विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा आएको पाँचपोखरी क्रिकेट क्लबले सार्थक धितालको ७८ रनको मद्दतमा उत्कृष्ट सुरुवात गरे पनि अन्तिम क्षणमा खेल २ रनले गुमाउन पुग्यो ।

ह्योल्मो ११ का विवेक तामाङ फाइनल खेलको म्यान अफ दी म्याचसँगै प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । उत्कृष्ट बलर करन तामाङ र उत्कृष्ट ब्याट्सम्यान पाँचपोखरी क्रिकेट क्लबका सार्थक धिताल घोषित भएका छन् ।

प्रतियोगिताको विजेता ह्योल्मो ११ ले रू ८० हजार र उपविजेता बनेको पाँचपोखरी क्रिकेट क्लबले रू ५० हजार प्राप्त गरेको छ । प्रतियोगितामा सिन्धुपाल्चोक जिल्लाका सात वटा टोलीको सहभागिता रहेको थियो ।

प्रतियोगिताको विजेता, उपविजेता लगायत प्रतियोगिताभरकै सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याटर र उत्कृष्ट बलरलाई पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामा, उपाध्यक्ष सुनिता अधिकारी लगायतले ट्रफी तथा प्रमाणपत्र पुरस्कार वितरण गर्नुभएको खेलकुद विकास समितिका अध्यक्ष ग्याल्बो साम्देनले जानकारी दिनुभयो ।

माउन्ट शेर्पा ट्राभल एण्ड टुरिजम प्रा.लि ले प्रतियोगिताको टाइटल स्पन्सर गरेको हो भने ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जीएचसीए) ले प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई एक वर्ष र उत्कृष्ट बलर एवं उत्कृष्ट ब्याटरलाई ६ महिना निःशुल्क क्रिकेट प्रशिक्षण प्रदान गर्ने जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button