तपाईँ सुन्दै हुनुहुन्छः

युएईलाई पराजित गरेसँगै नेपाल विश्वकप छनोटमा

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले युएईलाई पराजित गरेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले युएईलाई डीएल पद्धतिको आधारमा ९ रनले हराएको हो । यस जितसँगै नेपाल जिम्बावेमा आयोजना हुने विश्वकप छनोटमा सोझै छनोट भएको छ ।

युएईले दिएको ३ सय ११ रनको लक्ष्यसहित नेपालले जवाफी ब्याटिङ गरिरहँदा खराब प्रकाशको कारण खेल रोकिदा डीएलको आधारमा नतिजा तय गरिएको हो । खेल रोकिनु अघि नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २ सय ६९ रन जोडेको थियो ।

नेपालका लागि कुशल भुर्तेल, आरिफ शेख, भिम सार्की र गुलशन झाले अर्ध शतकीय इनिङ खेले । कुशलले ५० रन बनाए भने आरिफले ५२ रन बनाए । भिमले ६७ रनको योगदान दिँदा गुलशन ५० रनमा अविजित रहे ।

कप्तान रोहित पौडेल १६ रनमा आउट हुँदा कुशल मल्ल ५ रनमा आउट भए । आसिफ शेख शून्य रनमा पेभेलियन फर्किए भने दीपेन्द्र सिंह ऐरी १० रनमा अविजित रहे । युएईका जुनेद सिद्दिकीले ३ तथा आयान अफजल खानले २ र जाहोर खानले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १० रन बनाएको थियो । एक दिवसीय खेलमा नेपालविरुद्ध कुनै पनि टोलीले बनाएको यो सर्वाधिक ठुलो योगफल हो । यस अघि नेपालविरुद्ध पीएनजीले २ सय ९२ रन बनाएको थियो ।

युएईका लागि आसिफ खानले शतकीय इनिङ खेले । विस्फोटक ब्याटिङ गरेका उनले ४२ बलमा ११ छक्का र ४ चौकासहित अविजित १ सय १ रन बनाए । यस्तै भृत्य अरबिन्दले ९४ रनको अर्ध शतकीय इनिङ खेल्दा कप्तान मुहमद वासिमले ६३ रनको अर्ध शतकीय इनिङ खेले ।

रोहन मुस्तफा २० रनमा आउट भए । सिपि रिजवान ७, आर्यन लाक्रा ६ र आयन अफजल खान ३ रनमा आउट भए ।

नेपालका दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए । ललित राजवंशी, सन्दीप लामिछाने र सोमपाल कामीले १/१ विकेट लिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button