मुख्यमन्त्री यादवद्वारा प्रादेशिक अस्पतालका निर्देशक हटाउन निर्देशन
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत रहेको प्रादेशिक अस्पतालका निर्देशक डा. प्रमोद कुमार यादवलाई अस्पतालको निर्देशकबाट हटाउन निर्देशन दिनुभएको छ ।

मुख्यमन्त्री यादवले प्रादेशिक अस्पतालको ल्याबमा एउटै व्यक्तिको ब्लड ग्रुप फरक फरक दिएको र अस्पतालको सेवाको अवस्थाको विषयमा छड्के अनुगमन गर्दा अस्पतालका निर्देशक सहितका धेरै चिकित्सकहरू अनुपस्थित रहेको पाइएपछि निर्देशकमाथि कारबाही गर्न प्रतिष्ठानका सहकुलपति समेत रहनुभएका सामाजिक विकासमन्त्री सुरिता कुमारी साहलाई निर्देशन दिनुभएको हो । उहाँले ल्याबका प्रमुख परमेश्वर यादवलाई गलत रिपोर्ट बनाउने कर्मचारीमाथि पनि कारबाही गर्न निर्देशन दिनुभयो ।
मुख्यमन्त्री यादवले उपराष्ट्रपतिको चुनावका कारणले निर्वाचन आचार संहिता लागेको बताउँदै आचार संहिता हटेपछि अस्पतालका निर्देशक डा. यादवलाई परिवर्तन गर्न प्रतिष्ठानका सह–कुलपति एवं सामाजिक विकास मन्त्रीलाई निर्देशन दिनुभयो ।
प्रादेशिक अस्पतालको प्रयोगशालाको परीक्षणको शुल्क नीजि अस्पताल जस्तै भए पनि सेवा विश्वसनीय र भरपर्दो नभएको गुनासो सर्वसाधारणबाट हुन थालेको छ ।
अस्पतालले मधेश प्रदेशका धनुषा, महोत्तरी, सिरहा, सर्लाही तथा बागमती प्रदेशका सिन्धुली र कोशी प्रदेशका उदयपुरसम्मका बिरामीलाई सेवा प्रदान गर्दै आएको छ ।







प्रतिक्रिया राख्नुहोस्