तपाईँ सुन्दै हुनुहुन्छः

सरसफाइबारे सचेतना दिन तिलोत्तमाको सिक्सलेन सडकमा मानव साङ्लो 

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा मङ्गलवार मानव साङ्लो निकालिएको छ । नगरपालिकामा सञ्चालित समुदायमा आधारित हरियाली प्रवद्र्धन एवं नियमित सरसफाई अभियानको १०० औँ शृङ्खलाको अवसरमा आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रमअनुसार सिक्सलेनमा मानव साङ्लो निकालिएको हो । अभियानमा सबै नगरवासीको साथ, समर्थन रहेको सन्देश दिई प्रतिबद्धता जनाउने उद्देश्यले मानव साङ्लो आयोजना गरिएको नगर प्रमुख रामकृष्ण खाणले बताउनुभयो । 

योगिकुटीदेखि कोटिहवाको १३ किलोमिटर सडकका विभिन्न चोकमा जम्मा भएका सहभागीहरूले एकआपसमा हात जोडेर सरसफाई अभियानमा आफ्नो प्रतिबद्धता जनाएका थिए । मानव साङ्लोमा जनप्रतिनिधि, राजनीतिक दलका नेता, शिक्षक, विद्यार्थी, कर्मचारी, विभिन्न सङ्घसंस्था, क्लब, आमा समूह, खानेपानी, वन, टोल विकास संस्थाहरूले सहभागिता जनाएको अभियान संयोजक सुरेन्द्र श्रीले जानकारी दिनुभयो । 

सरसफाई तिलोत्तमाको पहिचान र सभ्यता हो भन्ने कुरामा सबै नगरवासीको प्रतिबद्धता र एकताको सन्देश दिन मानव साङ्लो निकालिएको नगरपालिकाले जनाएको छ । सहभागीहरूले विभिन्न प्लेकार्ड प्रदर्शन गर्दै आफ्नो फोहोर आफैँ व्यवस्थापन गर्ने, जथाभाबी फोहोर नगर्ने, नगरपालिकाले चलाएका अभियानमा यथेष्ट सहयोग पुर्‍याउने प्रतिबद्धता जनाएका थिए । 

मङ्गलवार नै मणिग्राम चोकमा निर्माण गरिएको सरसफाई स्मारक उद्घाटन गरिएको छ । अभियान १०० औँ शृङ्खलामा प्रवेश गरेको स्मरणमा मणिग्राममा सरसफाई स्मारक निर्माण गरिएको हो । स्मारकमा पुरुष र महिलाले सरसफाई गरेको प्रतिमा राखेर अभियानमा सबैको सहभागिताको सन्देश प्रवाह गरिएको छ । स्मारकको नगर प्रमुख रामकृष्ण खाण र उपप्रमुख जागेश्वरी चौधरीले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । 

तिलोत्तमामा २०७४ सालको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरू आएसँगै नियमित सरसफाई अभियान सुरु भएको हो । चैत्र १ गते एक सयौँ शृङ्खलामा पुग्ने अभियान अन्तर्गत हरेक महिनाको १ र १५ गते नगर प्रमुख, उपप्रमुखलगायतका जनप्रतिनिधिहरूको सहभागितामा नगरस्तरीय सरसफाई अभियान सञ्चालन हुँदै आएको छ । वडा कार्यालय र टोल विकास संस्थाहरू समेतले नियमित सरसफाई अभियान चलाउँदै आएका छन् । 

सम्भव: निरन्तर सञ्चालनमा रहेको तिलोत्तमाको यो सरसफाई अभियान उपत्यका बाहिरको पहिलो हो । निरन्तर सरसफाई अभियान चलाएको तिलोत्तमाले आफूलाई मुलुककै पहिलो पूर्णसरसफाई उन्मुख नगरपालिका बनाउन सफल भएको छ । नगरपालिकालाई वातावरणमैत्री स्थानीय शासनयुक्त नगरपालिका बनाउने गरी काम अघि बढाइएको छ ।  एक सयौँ शृङ्खलालाई भव्यताका साथ मनाउन फागुन २५ गतेबाट सप्ताहव्यापी कार्यक्रमहरू आयोजना गरिएका छन् । बुधबार मुख्य समारोह आयोजना गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button