पृतनापति ट्रफी २०७९ को उपाधि २२ नम्बर बाहिनीलाई
रुपन्देही । रुपन्देहीमा सम्पन्न मध्यपश्चिम पृतना, पृतनापति ट्रफी २०७९ को उपाधि २२ नम्बर बाहिनीले जितेको छ ।
प्रधानसेनापति ट्रफी २०७९ लाई लक्षित गरी नेपाली सेनाभित्र रहेका खेलाडीहरूलाई प्लेटफर्मसँगै खेलाडी छनौटको आधारका रुपमा खेलाइँदै आएको प्रतियोगिताको यसवर्ष उपाधि श्री नं २२ बाहिनीले चुमेको हो । श्री नं २२ बाहिनीले ४१ स्वर्ण, ४४ रजत र १४ कास्य पदक प्राप्त गरी उपाधि चुमेको हो । श्री नं १९ बाहिनीले ३३ स्वर्ण, २८ रजत र १३ कांस्य पदक प्राप्त गरी उपविजेतामा चित्त बुझायो ।

प्रतियोगितामा श्री नं २२ बाहिनीले व्यक्तिगततर्फ एथलेटिक्समा ५, तेक्वान्दोमा ३, बक्सिङमा ५, स्विमिङमा ५, टिम इभेन्टतर्फ भलिबल ५, बास्केटबलमा ३, फुटबल ३ गरी कुल २९ अङ्क ल्याएको थियो ।
श्री नं १९ बाहिनीले प्रतियोगिताको व्यक्तिगत इभेन्टमा एथलेटिक्समा ३, तेक्वान्दोमा ५, बक्सिङमा ३, स्विमिङमा ३, टिम इभेन्टतर्फ भलिबल ३, बास्केटबलमा ५, फुटबल ५ गरी कुल २७ अङ्क ल्याउँदै दोस्रो स्थान हासिल गर्यो ।
मध्यपश्चिम डिभिजन प्रतियोगिताको व्यक्तिगत इभेन्टतर्फ एथलेटिक्समा १, तेक्वान्दोमा १, बक्सिङमा १, स्विमिङमा १, टिम इभेन्टतर्फ भलिबल १, बास्केटबलमा १, फुटबल १ गरी कुल ७ अङ्कसहित तृतीय स्थान हासिल गरेको छ ।
प्रतियोगितामा श्री ईश्वरी बक्स गुल्मका हु. चन्द्र बहादुर खत्री श्री नं २२ बाहिनीबाट स्वीमिङ्ग खेलको विविध विधाहरूमा सहभागिता जनाई ६ वटा स्वर्ण पदक जित्न सफल हुनुभयो । नेपाली सेनामा रहेका खेलाडीहरूलाई अवसर सृजना गर्ने तथा राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिताको लागि पुर्वअभ्यास र खेलाडी छनौटको आधारका रुपमा प्रतियोगिता सञ्चालन गरिँदै आएको पृतनापति उपरथी यामप्रसाद ढकालले बताउनुभयो ।

आइतबार श्री नं २२ बाहिनी रामनगर खेलमैदानमा पृतना हेडक्वाटरका पृतनापति उपरथी यामप्रसाद ढकाल, श्री नं २२ बाहिनीका बाहिनीपति सहायक रथी नवराज गुरुङ, प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्यसचिव जयप्रकाश भट्टराईले विजेता, उपविजेता खेलाडीहरूलाई पुरस्कार वितरण गर्नुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्