पहिलो राष्ट्रपतिमा हाम्रै प्रस्ताव थियो : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको पहिलो राष्ट्रपति डा.रामवरण यादव आफूहरूको समर्थन र प्रस्तावमा निर्वाचित भएको बताउनुभएको छ ।
एमालेका तर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता भएपछि सञ्चारकर्मीहरूसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष ओलीले नेपालको पहिलो राष्ट्रपति डा.यादवलाई आफूहरूको प्रस्तावमा नै निर्वाचित गराएको बताउनुभयो । उहाँले आफ्नो पार्टीले त्यसपछि क्रमशः आफ्नै उम्मेदवार उठाएको बताउनुभयो ।
यस्तै, सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै एमालेबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दिनुभएकी अष्टलक्ष्मी शाक्यले लोकतन्त्रमा विश्वास गर्नेहरूले स्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “लोकतन्त्रलाई सुदृढ बनाउने हो भने सबैले यसबारे सोच्न जरुरी छ ।”
एमालेले आज बिहान एमालेले उपाध्यक्ष शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
शाक्यको प्रस्तावकमा अध्यक्ष ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, नेताहरू छविलाल विश्वकर्मा, गोकर्ण विष्ट र रघुवीर महासेठ हुनुहुन्छ । त्यस्तै, समर्थकमा कृष्णगोपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा दाहाल, भगवती न्यौपाने र यशोदा रिजाल हुनुहुन्छ ।रासस








प्रतिक्रिया राख्नुहोस्