तपाईँ सुन्दै हुनुहुन्छः

बीरगंजको ठाकुराराम बहुमुखी क्याम्पसमा विद्यार्थीद्वारा आगजनी

बीरगंज । बीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको स्ववियू निर्वाचनमा फर्जी विद्यार्थीको नामावली प्रकाशित भएको सम्बन्धमा उत्पन्न विवादलाई लिएर आज दिउँसो आक्रोशित विद्यार्थीहरूको समूहले क्याम्पसमा आगजनी गरेका छन् । 

स्ववियू निर्वाचनको विषयलाई लिएर विद्यार्थीहरूले आज दिउँसो विद्यार्थी कल्याण तथा खेलकुद शाखामा आगजनी गरेका हुन् । 

मतदाता नामावलीको विषयमा अखिल क्रान्तिकारी, अनेरास्ववियु, अनेस्ववियू, नेविसंघ, समाजवादी विद्यार्थी युनियन लगायतका नेताहरूले क्याम्पस प्रमुख र निर्वाचन अधिकृतसँग विवाद गरिरहेका बेला केही विद्यार्थीले विद्यार्थी कल्याण तथा खेलकुद शाखामा पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ । 

निर्वाचन समितिले २१ गते प्रकाशित गरेको १० हजार २७२ नामावली मध्ये ८ सय फर्जी मतदाता रहेको अखिल क्रान्तिकारी, अनेरास्ववियु, अनेस्ववियू, नेविसंघ, समाजवादी विद्यार्थी युनियनका विद्यार्थी नेताहरूले आरोप लगाएपछि क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको विद्यार्थी नेताहरूसँग विवाद भएको थियो ।

विवाद चलिरहेको समयमा विद्यार्थी कल्याण तथा खेलकुद शाखा प्रमुख रामविनय यादवले क्याम्पस प्रमुख उमेश चौरसियालाई राजीनामा पत्र बुझाएका थिए ।

आगलागीबाट विद्यार्थी कल्याण तथा खेलकुद शाखाका फर्निचर जलेका छन् । आगोलाई वीरगंज महानगरपालिकाबाट गएको दमक, प्रहरी तथा क्याम्पसका प्राध्यापक, कर्मचारी तथा विद्यार्थीहरूले नियन्त्रणमा लिएका थिए ।

प्रहरीले आगजनीमा संलग्न रहेको आशङ्कामा विद्यार्थी नेता सुजित गिरी, शिवम साह र मनिष चौहानलाई  नियन्त्रणमा लिएको छ । 

क्याम्पसमा तनाव सिर्जना भएपछि अहिले जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी दिपक गिरीको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button