तपाईँ सुन्दै हुनुहुन्छः

मुलुकको सुशासनमा सबैको ध्यान जान आवश्यक : नवनिर्वाचित राष्ट्रपति पौडेल 

काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले जनतामा आशा र उत्साहको सञ्चार गरेर मुलुकमा नयाँ जागृति ल्याउनुपर्ने बताउनुभएको छ ।

काठमाडौँको सुन्दरीजलस्थित बिपी सङ्ग्रहालयमा आज बिपी कोइरालालगायतका नेताको शालिकमा माल्यार्पण पछि आयोजित कार्यक्रममा नवनिर्वाचित राष्ट्रपति पौडेलले राजनैतिक स्थायित्व र मुलुकको सुशासनमा सबैको ध्यान जान आवश्यक रहेको उल्लेख गर्नुभयो ।

बिपी कोइराला लगायतका नेताप्रति सम्मान व्यक्त गर्दै नवनिर्वाचित राष्ट्रपति पौडेलले जनताले प्राप्त गरेको अधिकारमाथि कसैले पनि खेलबाड गर्न नहुनेमा जोड दिनुभयो ।

उहाँले जनतामा देखिएको निराशालाई आशामा परिणत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नवनिर्वाचित राष्ट्रपति पौडेलले बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, रामनारायण मिश्र, देवानसिंह राई र योगेन्द्र शेरचनको शालिकमा माल्यार्पण गर्नुका साथै जकरण्ड नामको वृक्ष रोप्न भएको थियो ।

त्यस अवसरमा नवनिर्वाचित राष्ट्रपति पौडेललाई बिपी सङ्ग्रहालय समितिका अध्यक्ष परशुराम पोखरेल, प्रदेश सांसद विमल ठकुरी लगायतले स्वागत गर्नुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button