होलीमा मधेश प्रदेशमा सवारी दुर्घटनामा १६ को मृत्यु १७२ घाइते

वीरगंज । होली पर्वमा जथाभाबी मदिरा सेवन गरी सवारी चलाउँदा एवम् तीव्र गतिमा सवारी चलाउँदा मधेश प्रदेशका आठ जिल्लामा तीन दिन भित्र १६ जनाको सवारी दुर्घटनामा मृत्यु भएको छ भने, १७२ जना घाइते भएका छन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराले आज एक प्रेस नोट जारी गर्दै मधेश प्रदेशका आठ जिल्लामा होली पर्वमा दुर्घटना न्यूनीकरण गर्ने अभियान अन्तर्गत फागुन २२ गतेदेखि २४ गतेसम्म राजमार्ग तथा सहायक मार्गहरूमा चेकजाँचलाई कडाई गरेको थियो ।
सो अवधिमा मधेश प्रदेशका आठ जिल्लामा १ सय १९ वटा सवारी दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको र १ सय ७२ जना घाइते भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बाराका प्रमुख एसपी सन्तोष कुमार भट्टराईले जानकारी दिनुभयो ।
तीन दिनको अवधिमा ट्राफिक प्रहरीले २ हजार ७ सय १७ सवारीसाधनलाई ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा कारबाही गरेको र कारबाही बापत २० लाख ९४ हजार ५ सय जरिवाना असुल गरिएको भट्टराईले बताउनुभयो ।
त्यसैगरी सो अवधिमा मादक पदार्थ सेवन गरी सवारी चलाउने १ सय २३ जनालाई कारबाही गरिएको ७ सय ९४ थान सवारीसाधन नियन्त्रणमा लिएको र तीव्र गतिमा सवारीसाधन चलाउने २० जनालाई कारबाही गरिएको समेत भट्टराईले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्