तपाईँ सुन्दै हुनुहुन्छः

नमोबुद्धमा महिलामैत्री नीति, कार्यक्रम र बजेट बनाउने प्रतिवद्धताका साथ नारी दिवस मनाइयो

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिकामा ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस एक कार्यक्रम गरी मनाइएको छ । महिला सहकारी संस्था, विद्यालय, स्वास्थ्य स्वयंसेविका लगायत सहभागी कार्यक्रममा जनप्रतिनिधिले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ‘महिलामैत्री’ बनाउने प्रतिबद्धता जनाउनुभएको छ । 

नगरप्रमुख कुनसाङ लामाले महिला लक्षित कार्यक्रम र योजनालाई प्राथमिकता दिएको बताउँदै आगामी दिनमा पनि त्यसले प्राथमिकता पाउने प्रतिबद्धता जनाउनुभयो । योजनासहित प्रस्ताव लिएर आउन अनुरोध गर्दै नगर प्रमुख लामाले प्राथमिकताका साथ नीति, कार्यक्रम र बजेटमा समावेश गर्ने बताउनुभयो । 

नगर उपप्रमुख रत्नबहादुर लामाले पुरुषहरू हिंसामा परेको उजुरी पनि न्यायिक समितिमा आएको जानकारी दिँदै लैङ्गिक हिंसाविरुद्धको अभियान चलाउन अनुरोध गर्नुभयो । उहाँले पनि महिला लक्षित योजना र कार्यक्रममा बजेट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुभयो । 

नगर पूर्व उपप्रमुख रामदेवी तामाङले महिला लक्षित कार्यक्रमलाई बजेट बढाउन अनुरोध गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले महिलामैत्री बजेट, नीति तथा कार्यक्रम तय गर्न जनप्रतिनिधिहरू सकारात्मक भएको भन्दै उहाँले प्रशासनिक रुपमा आफू प्रतिबद्ध रहेको बताउनुभयो । हरेक तह, निकायमा महिलाको अर्थपूर्ण सहभागिता हुनुपर्ने भन्दै उहाँले क्रमिक रुपमा सहभागितामा वृद्धि हुँदै गएको तर्क गर्नुभयो। 

कार्यक्रममा नगर प्रवक्ता समेत रहनुभएका वडा नं ६ का अध्यक्ष टिकाबहादुर केसी, नगर कार्यपालिका सदस्य सुशीला परियार, नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष रामेश्वर अधिकारी, महिला अधिकारकर्मी देवकी खनाल, शान्ता नराल पाठक, दाप्चा माध्यमिक विद्यालयका प्रधानाध्यापक दिनेशप्रसाद अधिकारी, महिला सहकारी सञ्जालका संयोजन राधिका तिमल्सिना श्रेष्ठ लगायतले महिला अधिकार र सहभागिता अझै बढाउनुपर्ने तर्क गर्नुभयो । 

महिला, बालबालिका तथा समाज कल्याण उपशाखा प्रमुख तारादेवी सुनुवारले कार्यपत्र प्रस्तुत गरेको कार्यक्रममा विभिन्न सहकारी संस्था र विद्यालयका प्रतिनिधिहरूले गीत, कवितामार्फत महिला हिंसा, अधिकारबारे चर्चा गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button